Close This

युट्युबमा भिडियो हेरेर धनाढ्य रहेको अनुमानपछि ५ करोड फिरौती माग, नदिए ज्यान मार्ने धम्की

बिहीबार माघ २५, २०८०/ Thursday 02-08-24
Paschim Today

ज्यान मार्ने धम्की दिँदै ५ करोड रुपैयाँ फिरौती माग गर्ने दुई युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका २ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–२ घर भइ पोखराको सिमलचौर बस्ने ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा–१४ घर भइ पोखरा सिमलचौर नै बस्ने ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन्। दुबै जना कक्षा १२ पास गरेका व्यक्तिहरु हुन्। 

पक्राउ परेकामध्ये दीपकबहादुर यसअघि २०७९ सालमा हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलेका व्यक्ति रहेका खुलेको छ। २०७१ मा उनीविरुद्ध कास्कीबाटै अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको थियो। 

उनीहरु दुबै जनाबाट प्रहरीले विभिन्न किताबहरु ३ थान, नोटकबुक १ थान, विभिन्न व्यक्तिहरुको नाम उल्लेख गरिएको ८ पेजको कपी, ४ थान मोबाइल सेट, विभिन्न नम्बरका सिमकार्ड, भारतीय सिम १ थान, एनसेलको सिम ३ थान, नेपाल टेलिकमको सिम ५ थान, खुकुरी १ थान, लागु औषध गाँजा ५७२ ग्राम, भरुवा बन्दुकमा लाग्ने केप २७ थान, सानो–ठूलो मुगा १४ थान, टर्च लाइट २ थान, पेन्चिस १ थान, गेलेन्डर मेसिन १ थान, रन्दा मेसिन १ थान, फलामको ह्याक्सो ब्लेड १ थान  बरामद गरेको छ। 

माघ १८ गतेदेखि पोखराको लामाचौर घर भएका  सच्चाइ सेवा केन्द्रका सञ्चालक तथा सच्चाइ केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्रकाश दीप गैरेलाई फोन तथा म्यासेजमार्फत उनीहरुले धम्क्याउँदै ५ करोड रुपैयाँ फिरौती माग गरेका थिए। उनीहरुले ५ करोड रुपैयाँ नदिएको अवस्थामा गैरका साथै उनको परिवारका सदस्यको समेत ज्यान मार्ने भन्दै धम्की दिएका थिए। 

लष्mद
५ करोड फिरौती माग्दै धम्की आएपछि उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए। त्यसपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनीहरुलाई माघ २४ गते पक्राउ गरेको हो। 

फिरौती माग्नुभन्दा पहिला पक्राउ परेका दर्जीले युट्युबमा प्रकाश दीप गैरेको भीडिओ हेर्ने गरेको र उनी पैसा दिनसक्ने व्यक्ति भएको अनुमान गरेको खुलेको छ। 
त्यसपछि गैरेको बारेमा बुझ्न माघ १३ गते शनिबार सच्चाइको कार्यालयमा गइ २ घण्टासम्म बसी गफ गरेर उनको नम्बर लिएर उनीहरु फर्केका खुलेको छ। 

त्यसपछि १८ गतेबाट उनीहरुले फोन तथा म्यासेज गर्दै धम्की दिँदै ५ करोड रुपैयाँ फिरौती माग गरेका थिए। त्यसपछि माघ २० गते मात्रै उनीहरु दुबै जना सच्चाइको कार्यालयमा गएर घटनाको असरबारे बुझ्ने गरेका थिए। 


माघ २३ गते पुनः सच्चाइको कार्यालयमा गएर उनीहरुले आधा घण्टा त्यहाँ बिताएका थिए। त्यसको भोलिपल्ट २४ गते भने प्रहरीले उनीहरु दुबै जनालाई पक्राउ गरेको हो।

उनीहरु ‘बिग मनी, बिग टार्गेट’ को लक्ष्य राख्दै धम्क्याउने गरेको खुलेको कास्कीका एसपी मोहनकुमार थापाले जानकारी दिए। त्यसका लागि अपहरण, फिरौती, सुटआउट जे पनि गर्न तयार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

आफ्नो टार्गेट समूहमा नेता, व्यापारी, गुण्डा, भूमाफिया, औधोगिक माफिया, मेडिकल माफिया, म्यानपावर माफियाहरु रहेको भनेर उनीहरुले उल्लेख गरेको डायरी समेत प्रहरीले बरामद गरेको छ। 

पक्राउ परेकाहरुविरुद्ध लागु औषध गाँजासम्बन्धीको कसुर, हातहतियार तथा खरखजनाको कसुर र आपराधिक लाभसम्बन्धीको कसुरमा अनुसन्धान अघि बढाइएको छ।