Close This

यौन शोषण मुद्दामा दोषी ठहर भएका व्यक्तिको सजाय माफ गरेकोमा हङ्गेरीकी राष्ट्रपतिद्वारा राजीनामा

आइतबार माघ २८, २०८०/ Sunday 02-11-24
Paschim Today

काठमाण्डौ  । हङ्गेरीकी राष्ट्रपति क्याटलिन नोभाकले राजीनामा दिएकी  छन । बालबालिकालाई यौन शोषण गरेको मुद्दामा दोषी ठहर भएका एक व्यक्तिको सजाय माफ गरेकोमा खेद व्यक्त गर्दै राष्ट्रपति नोभाकले राजीनामा दिएको बीबीसीले जनाएको छ ।

एक सरकारी बालगृहका निर्देशकमाथि लागेको यौन शोषणको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिने व्यक्तिको सजाय राष्ट्रपतिले माफ गरेको कुरा गएको हप्ता सार्वजनिक भएको थियो । राष्ट्रपतिको यो निर्णयलाई लिएर हङ्गेरीमा प्रदर्शन भइरहेको थियो र राष्ट्रपतिको राजीनामाको माग भइरहेको थियो ।

राष्ट्रपति नोभाकले टीभीमा लाइभ आएर आफ्नो निर्णयप्रति खेद प्रकट गर्दै  सजाय माफ दिएर आफूले गल्ती गरेको बताए । सजाय माफको निर्णयलाई अनुमति दिने तत्कालीन कानुनमन्त्री जुडित वारगाले प्रधानमन्त्री भिक्टर ओर्बानको पार्टीको तर्फबाट युरोपेली चुनावका लागि अभियानबाट हट्ने घोषणा गरेकी छन ।

गएको वर्ष इसाई धर्मगुरु पोप फ्रान्सिस हङ्गेरी आउँदा राष्ट्रपति नोभाकले २५ जनाको सजाय माफ गरेकी थिइन। त्यो सूचीमा परेका बालगृहका निर्देशकलाई यौन शोषण मुद्दामा आठ वर्षको सजाय सुनाइएको थियो । यस्तै बालगृहका उपनिर्देशकलाई तीन वर्षको सजाय सुनाइएको थियो ।