Close This

एन पिस अवार्ड विजेता वसन्तीको धनगढीमा ‘दहिटान घर’

सोमबार माघ २९, २०८०/ Monday 02-12-24
Paschim Today

कैलाली । 

लामो समय विभिन्न गैरसरकारी संस्थामा आबद्ध भई काम गरेका कैलालीका अधिकारकर्मी वसन्ती र वीरेन्द्र चौधरी धनगढीमा थारू परम्परागत परिकारको व्यवसायमा जुटेका छन् । 

कमैया कमलरी मुक्त अभियानकर्ता रही अन्तर्राष्ट्रिय स्तरको एन पिस अवार्ड २०१६ बाट समेत सम्मानित भइसकेकी वसन्ती र उनका श्रीमान् वीरेन्द्र चौधरी थारू परम्परागत परिकारको मुख्य सुविधासहितको ‘दहिटान घर’ नाम दिएर रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । धनगढी उपमहानगरपालिका–४, घरेलु चोक उत्तरबेहडीमा २० लाखको लगानीमा व्यवसाय सुरु गरेका हुन् ।

उनीहरूले आफ्नो ‘दहिटान घर’ लाई थारू समुदायको माघी पर्वको अवसरमा सुरु गरिएको हो। सो दहिटान घरले आफ्नो प्रि–ओपनिङमै ग्राहकको मन जित्न सफल भएको थियो । अहिले उक्त व्यवसायबाट दुवै जना निकै उत्साहित देखिएका छन् ।

‘हामीले सुरु गर्दा भन्दा बढी उत्साहित अहिले भएका छौँ जो जो आउनु हुन्छ निकै खुसी भएर जानुहुन्छ ’ वसन्ती भन्छिन्, ‘सोचेभन्दा बढी ग्राहकहरूले माया दिनुभएको छ । ’

अधिकांश ग्राहकहरूले उनलाई उचित स्थानमा उत्कृष्ट सेवा दिएको बताउँछन् ।

१७ वर्षसम्म विभिन्न गैरसरकारी संस्थाहरूमा काम गरेका वीरेन्द्रले हालै सञ्चालनमा ल्याएको व्यवसायले जागिरे जीवनको आरोहअवरोहलाई भुलाएको सुनाउँछन् ।

‘दहिटान घर’ अर्थात् थारू जातिभित्रको मुख्य उपथर दहिट बाट ‘दहिटान घर’को अवधारणा ल्याएको उनीहरूको भनाइ छ । जहाँ गाउँले स्वाद प्रमुख विशेषता रहेको सञ्चालिका वसन्ती बताउँछिन् ।

उनीहरूको दहिटान घरमा थारू परिकार ढिक्री, अन्डिक भात, सिद्राको चटनी, बयरको चटनी, आलुको चटनी, घोघी, लोकल कुखुराको ग्रेबी, बङ्गुरको सेकुवा, पकुवा र चिल्ली पाइन्छ । जसको स्वाद लिन दैनिक रूपमा ग्राहकहरूको उत्साहजनक सहभागिता रहने गरेको वसन्ती बताउँछिन् ।

हाल थारू मौलिक परिकारको प्रवर्धन गर्दै आएका उनीहरू निकट भविष्यमा सुदूरपश्चिमका अन्य रैथाने परिकारको पनि व्यवस्था गर्ने बताएका छन् । दुई दशकदेखि कमैया, कमलरी मुक्ति अभियानलगायत अधिकारमुखी आन्दोलनमा सक्रिय वसन्तीले समाज सेवासँगै व्यवसायलाई निरन्तरता दिने बताउँछन् ।

उनी कमैया प्रथा उन्मूलन समाज, ओरेक नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, थारू नागरिक समाजलगायत सङ्घ संस्थासँग आबद्ध छिन् ।