Close This

नौ वर्षदेखि अलपत्र धनगढीको खानेपानी आयोजना

सोमबार माघ २९, २०८०/ Monday 02-12-24
Paschim Today

नौ वर्षअघि गाउँमा खानेपानी आयोजनाको निर्माण सुरु हुँदा धनगढी उपमहानगरपालिका– १५ कनरीका बासिन्दा स्वच्छ पानी पिउन पाउने आसमा थिए । करिब नौ सय घरधुरीमा खानेपानी सुविधा पुर्‍याउने लक्ष्यसहित सरकारको नौ करोड रुपैयाँ लागतमा कनरी खानेपानी योजनाको निर्माण सुरु गरिएको थियो । तर, आयोजना निर्माणमा ढिलाइ हुँदा स्थानीय निराश छन् । नल्का (ट्युबेल)को पानी पिउनुपर्ने उनीहरूको बाध्यता हटेको छैन । 

आयोजनाका लागि बोरिङ गरेर जमिनमुनिबाट निकालिएको पानी तीन वर्षदेखि खेर गइरहेको छ । त्यसलाई जम्मा गरेर उपभोक्ताका घरसम्म पुर्‍याउन ट्यांकी बनाउने र पाइपलाइन बिछ्याउने काम हुन सकेको छैन । पानी वितरण गर्न आवश्यक १५ किलोमिटर पाइप लाइनमध्ये हालसम्म करिब तीन सय मिटरमा मात्र पाइप बिछ्याउने काम पूरा भएको छ ।

‘घरघरमा स्वच्छ पानी आउँछ भनेर खुसी भएका थियौँ, तर अहिलेसम्म न धारा जोडिए, न ट्यांकी बन्यो,’ स्थानीय जयप्रकाश चौधरीले भने, ‘बोरिङ गरेर निकालेको पानी पनि खेर गइरहेको छ, हामीले नल्काकै प्रदूषित पिउनुपरेको छ ।’ गाउँमा धेरैजसोका घरका नल्काको पानीमा गन्ध आउने, भरेर केही समय राख्दा पहेँलो हुने गरेको उनले बताए । ‘परीक्षण त गरेका छैनौँ, तर नल्काको पानी हेर्दै खानयोग्य देखिँदैन,’ चौधरीले भने ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका अनुसार नौ वर्षसम्म यो आयोजनाको भौतिक प्रगति करिब १४ प्रतिशत छ । लागतको २० प्रतिशत उपभोक्ताको श्रमदानसमेत गरी कुल आठ करोड रुपैयाँ लागतमध्ये सरकारले हालसम्म करिब ७० लाख बजेट मात्र दिएको छ । 

नौ वर्षमा १० प्रतिशत प्रगति
टीकापुर नगरपालिका– ९ स्थित बागेश्वरी प्रगति सिर्जनशील टोलमा निर्माणाधीन खानेपानी आयोजना पनि अलपत्र छ । करिब नौ वर्षअघि नै सुरु भएको यो आयोजनाको भौतिक प्रगति अहिले १० प्रतिशतको हाराहारी रहेको खानेपानी डिभिजन कार्यालय धनगढीका निमित्त प्रमुख गणेशप्रसाद उपाध्यायले बताए । ६ करोड रुपैयाँ लागत रहेको हालसम्म आएको ४० लाख बजेटले एउटा बोरिङ गाड्ने र पर्खाल बनाउने काम मात्र भएको उनले जानकारी दिए ।