Close This

विद्यार्थीको गयल घटाउन स्कुलमै भातभान्सा

सोमबार माघ २९, २०८०/ Monday 02-12-24
Paschim Today

बाजुरा, माघ २९ गते । यस जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाका ९, डप्कमा रहेको सिद्धेश्वरी आधारभूत विद्यालयले विद्यार्थीको गयल घटाउन विद्यालयमै भातभान्सा लगाउने गरेको छ ।

हिउँदमा विद्यालय नआउने विद्यार्थीलाई नियमित गर्ने उद्देश्यले विद्यालयले विद्यालयमै बसेर पढाइ गर्ने गरी भातभान्सा लगाउने गरिएको हो । बुढीनन्दा नगरपालिका ७, ८, ९ र १० का अधिकांश स्थानीयको जीविकोपार्जनको मुख्य पेसा भेडाबाख्रापालन हो ।

यहाँका अधिकांश स्थानीय हिउँदमा भेडासँगै औल झर्ने भएकाले बालबालिका पनि उतै जाने गरेपछि यो विद्यालय हिउँदमा विद्यार्थीविहीन हुने गर्दछ ।

हिउँद भेडाबाख्रासहित घरपरिवार नै औल झर्ने र बर्खा लागेपछि पुनः घर फर्किने चलन परम्परागत नै हो । आमाबुवा औल झरेपछि बालबालिका पनि उतै जाने गरेकाले यतै रोक्न विद्यालयमै भातभान्सा सुरु गरेको प्रधानाध्यापक तुलाबहादुर रावतले बताए ।

उनले भने, “विद्यालयमै भातभान्सा सुरु गरेपछि बालबाालिका पनि सबै विद्यालयमा बसेर पढाइ गर्दै आएका छन् ।” लामो समय शिक्षाबाट वञ्चित ती बालबालिका पछिल्लो समय विद्यालयमा बस्न थालेका छन् । उनीहरूको पढाइमा निकै सुधार आएको विद्यालयका प्रधानाध्यापक रावतले बताए । 

हिउँदको महिना घरमा संरक्षण गर्ने कोही नभएकाले बालबालिका पनि आमाबुवासँगै भेडाबाख्रासँग औल जाने गरेपछि अघिल्ला वर्षमा यो विद्यालय खाली हुने गरेको थियो ।

हिउँदमा सधैँ विद्यालयमा उपस्थित नहुने बालबालिकालाई नियमित गर्ने उद्देश्यले २०७९र८० देखि विद्यालयलाई आवासीय विद्यालयका रूपमा सञ्चालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह गुरुङले बताए ।

उनले भने, “ विद्यालयलाई आवासीय विद्यालयका रूपमा सञ्चालन गरेपछि हिउँदमा पनि बालबालिका विद्यालयमा नियमित उपस्थित हुन थालेका छन् ।” हिउँदमा एक जना पनि विद्यालय नआउने यो विद्यालयमा अहिले  ६५ छात्रा २७ छात्र गरेर ११२ जना नियमित रूपमा विद्यालयमा पढ्न आउने गरेको गुरुङले बताए ।