Close This

मिराकी क्ल्बको लाईब्रेरीसंगसँगै आएका मेरा पठनस्मृतिहरु

शुक्रबार फागुन ११, २०८०/ Friday 02-23-24
Paschim Today

“A reader lives a thousand lives before he dies . . . The man who never reads lives only one.”

George R.R. Martin

American novelist and short-story writer, screenwriter, and television producer

मिराकी क्ल्बको लाईब्रेरीबाट हालसालै ३ वटा पुस्तक पढ्न ल्याएको छु । मैले पुस्तकालयबाट विवेक ओझाको ऐठन, ऐलानी र हार्पर लि को टु किल अ मकिंग बर्ड पुस्तक पढिरहेको छु । यसरी पढ्ने  अवसर दिनु भएकोमा क्लबलाई हार्दिक धन्यवाद दिन चाहान्छु । अब बिस्तारै निरन्तरता दिने छु । म युवाहरुलाई कुनै अर्ति उपदेश दिन यो लेख लेखिराखेको छैन । पुस्तक पढेर ठुलो मानिश बन्ने मार्कका अर्ति दिनु मेरो उदेश्य हैन । बिसुद्ध आफ्नो अनुभब राख्ने कोशिस मात्र हो ।

पहिले पहिले क्लासिक आख्यानहरु धेरै नै पढियो ।राम्रा पुस्तकहरु नेपालका प्रसिद्ध स्तम्भकार विष्णु सापकोटले भने झैं रोकिई रोकिई, मन्थन गर्दै, वाह भन्दै सकिएला कि भन्ने लोभले सिध्याउन मन लाग्दैन । सबै पुस्तक त्यस्ता हुँदैनन् । यी ३ पुस्तक चाहिं राम्रा चाहिँ हुन । आशा छ मिराकी युवाक्लबले महत्वपुर्ण पुस्तकहरु आफ्नो पुस्तकालयमा समावेश गर्दै जाओस् । सबै ठाउँमा पाईने पुस्तक भन्दा अन्त विरलै पाईने पुस्तकहरुको पनि संकलन होस् ।धनगढ़ी र समग्र सुदूरपश्चिममा नाम रहोस , क्लबलाई मेरो अग्रिम सुभकामना ।

फ्रान्ज काफ्का भन्छन्, पुस्तकले हामीमा जमेको वरफरूपी समुद्रलाई फोड्न सघाउँछ । मलाई अहिले बच्चाबेलाका सम्झनामा अरु तथ्य, तथ्यांक, विषय आदि याद छैन तर भावना छुने एउटा कथा भने कहिल्यै विर्सन्न । कक्षा छ मा पढेको राजुको छाउरो, यस्तै केही शिर्षक भएको कथामा राजुले कुकुरप्रति देखाएको प्रेम र माया ममा  अहिले पनि अमिट छाप परेको छ । त्यस्तै जे के गल्र्जवर्थीको क्वालिटी भन्ने कथा पढ्दा आंखामा आंसु आएको सम्झना छ । भनेको, हाम्रो समवेदना र हृदयलाई स्पन्दन गर्न कथा, आख्यान, कविता, नाटकजस्ता कलाको शैली नै रहेछ ।

ब्रायन बोडले भन्छन्, मानवले हजारौंवर्षदेखि (छापाजस्ता प्रविधिको विकास नभएसम्म) आफ्नो स्मृति, मुल्य, संस्कृति, मर्यादालाई यस्तै कथामा उनेर पुस्तान्तरण गर्न सक्षम भएको छ । न्युरोसाईन्सले भन्छ, आख्यानले हाम्रो मस्तिष्कको सबैभागलाई सकृय गराउँछ । कथा वा उपन्यासजस्ता कलामार्फत मानिसले आफ्ना आगामी पुस्तालाई भविष्यमा आईपर्ने खतरा, अनिश्चय र जोखिमलाई जुझ्न सोही किसिमको सिम्युलेटेड वातावरण बनाई तयार गराउँछ जसरी प्लेन उडाउने पाइलटले सिम्युलेटेड फ्लाइटबाट वास्तविक उडान गर्न सिप सिके झैं ।

नेपालका लेखक र आख्यानकारमा मलाई शंकर लामिछाने, पारिजात, बानीरा गिरी, डा डिपी भंडारी, वीपी कोइराला, भवानी भिक्षु, रमेश विकल, इन्द्र बहादुर राई, नयनराज पांडे, ध्रुव चंद्र गौतम, अभि सुबेदी, कुमार नगरकोटी, अभय श्रेस्ठ, बिष्णु सापकोटा र अन्य लेखकमा सीके लाल, अच्युत वाग्ले, लगायत अन्य पनि धेरै छन । त्यस्तै बिदेशी लेखकमा एमिली डिकिनसन, सलमान रुसदी, आरूँधिति रोय, फयोदार दोस्तोवएस्की, मार्क टयोएन, ज्ञाबरिएल ग्रसिया, जार्ज ऑरवेल, हारूकी मुराकामी र अन्य पनि मन पर्छन ।

मसंग यि बुकहरु हजारौं संख्यामा छन् तर भौतिक किताबलाई मुसारेर भौतिकरुपमा पढ्नुमा छुट्टै आनन्द छ । सुदुर पश्चिममा निकै कम पुस्तकालय भएको र चाहेको पुस्तक पढ्ने अवसर कमै पाईन्छ । संधै पैसा लगानी गरेर पुस्तक किनेर पढ्नु हामीलाई व्यावहारिक हुन्न । त्यस हिसाबले मिराकी युवाक्लबले राम्रो काम गरेको छ । मैले के देखेको छु भने , आजकाल स्कुल र कलेजमा लाईब्रेरी छन् , विद्यार्थी पनि छन् । शिक्षकहरु पनि छन् । नभएको भनेको किताब पढनमा उत्प्रेरणा र रुचि जगाउने कुराको कमि देख्छु ।

हामी ठुला मानिसलाई त किताब अध्ययन गर्ने कुरा कति सकसपुर्ण लाग्छ भने, ति साना बालबालिकालाई कस्तो होला । मन र मष्तिष्क अनि सोच परिवर्तन गर्ने पुस्तकमा रमाउन र हराउन विद्यार्थी तथा बालबालिकाको रुचि निर्माण गर्न नसकिएको तितो यर्थाथ छ । बालबालिकालाई अभिभावक, शिक्षक, संरक्षकहरुले काखमा राखेर उनीहरुको तह, लय र पिचमा पढाउन पर्छ भन्ने ज्ञान हामी वयष्कमा पनि नभएको पाउँछु । बरु महंगा खेलौना, मोबाईल, भिडियो गेम जस्ता महंगा साधन किनिदिने तर पुस्तकसंग परिचय नगराउने प्रवृत्ति छ  अभिभावकमा । 

यिनै बालबालबालिका पछि युवा भएपछि अपरिपक्व, कांचा, र समस्यासंग भिड्न डराउने, अरुको संवेदना बुझ्न नसक्ने, संर्घर्ष गर्न डराउने, आत्मबलमा न्युन, अरुको स्थानमा आफुलाई राख्न नसक्ने पुस्ताकोरुपमा विकास हुने सम्भावना देखिन्छ ।अब त कस्तो परिस्थिति छ भने कुनै सिप वा ज्ञातामात्र भएर नपुग्ने स्थिति छ । डेनियल कार्नेजले त के सम्म भन्छन् भने आफ्नो सिप र विज्ञतालाई राम्रोसंग संचार गर्न र प्रस्तुती गर्न नसक्नेलाई अब १०० वर्ष अगाढि त गारो थियो भने अहिले त संभव छैन । आफु जानेको कुरा प्रष्टसंग संवाद गर्न पुस्तक अध्ययनले सहयोग गर्दछ ।

किताब पढ्नमा मलाई आनन्द आउँछ । तर आनन्द आउने गरि पढ्नमा शुरुमा कठिन हुन्छ । तर मेरो पठनयात्रा कसरी शुरु भयो भन्नेमा एउटा सानो किस्सा छ । म ब्लु डायमण्ड भन्ने संस्थामा कार्यरत हुंदा एकजना एलेन भन्ने करिब ६० वर्षयी अमेरिकी स्वंयसेवी पनि त्यस कार्यलयमा थिईन् । एकपटक तिहारको विदा पछि भेट हुंदा मलाई उनले तिहार कस्तो भयो , फोटो देखाउ भन्दा परिवार र छोराछोरीले टिका लगाएको फोटो देखांए अनि बच्चाहरु राम्रा छन् भनेर भने पश्चात त्यो फोटोका पछाडि थोरै किताबका च्याङ पनि देखिन उनले ।

अनि उनले भनेको कुरा मलाई मनमन निकै गढ्यो । धेरै नेपालीहरु त्यति किताब नपढ्ने बारे मलाई भनिन् । तर तेरो घरमा कमसेकम किताब त रैछन् , पक्कै तं पढ्ने रैछस भनेर भनिन । तर म पनि खासै किताब पढ्ने मान्छे थिईन, संकलन गर्न चाहिं मज्जा लाग्ने । अंग्रजी कमजोर थियो, खासै छिचोल्न सकिन । तर नेपाली किताब भने पढ्थें । भनेको, विदेशीहरु कोही कसैपनि अध्ययनशिल हुनु कति गंभिर मानिदो रैछ भन्ने कुरा त्यो क्षणबाट थाहा पाएं । पुस्तक पढ्नु एउटा संस्कृति हो । जसरी खाना खानु , काम गर्नु , खेल्नु र नियमित अन्य काम झैं ।

विकसित देशका मानिसहरु त्यत्तिकै उँभो लागेका छैनन् । उनीहरु गाढीमा, प्लेनमा, चौरमा, डुल्दा, घुम्दा, फुर्सदमा पुस्तक च्याप्दै बसेका देखिन्छ । यस्तो पुस्तक पढ्ने स्वभाव अब उनीहरुको संस्कृति बनेको छ । एकदम सामान्यकरण । शताब्दीऔं पुरानो यो अभ्यासले उनीहरुको संज्ञानत्मक क्षमता पनि वृहत छ । प्रविधि, साहित्य, विज्ञान, अनुसन्धान, व्यवस्था अर्थतन्त्र आदि सबै उन्नत छ । हाम्रो पनि अब बाटो त्यही नै हो । जुन पुस्तक पढ्ने, ज्ञानमा वृद्धि गर्ने, व्यवहारमा लागु गर्ने, परिष्कार गर्ने गरेर मात्र सम्भव छ ।

पढ्नु भनेको फगत प्राज्ञिक काम मात्र, विद्धान हुन मात्र पढ्नु, र केही सिमित मानिसले मात्र पढ्नु होईन । अनुसन्धानले भन्छ, संसारमा सबैभन्दा सफल मानिस ति हुन जसले पुस्तक अध्ययन गर्ने, आफ्नो सिप निखार्ने र आफुलाई ज्ञानबाट समायोजन गर्ने गर्छन् । हामीलाई अचम्म लाग्न सक्छ, धेरै किताब पढ्नेमा प्राज्ञिक कर्ममा लागेका बाहेक विल गेट्स, वारेन वफेट, ज्याक मा, मार्क जुकरवर्ग, एलेन मस्क, जेफ बेजोस आदि पर्छन् जो विश्वका सबैभन्दा धनीमा सुचिकृत छन् । अन्य पेशाकर्मीमा पनि सफल तिनै छन् जसले पुस्तक पढ्ने गर्छन् ।

सुन्दर पुस्तकले मानवको उच्चतम उदात्त भाव, श्रृजना, कल्याणकारी चित्तमा अथाह फैलन सक्ने क्षमताको वृद्धि गर्दछ । आख्यान तथा कथाले हाम्रा जमेका संवेदनशीलतालाई झकझकाउँछ । हामी जस्तै अरु व्यक्तिका भावना, विचार, चाहना, मनोस्थितिबारे सम्मान गर्न सिकाउँछ । अभिभावकले आफ्ना सन्तानको, सन्तानले आफ्ना अभिभावकको, बोसले आफ्ना सहकर्मीको, साथीले अरु साथीको, शिक्षकले विद्यार्थीको,विद्यार्थीले शिक्षकको, प्रेमीले आफ्नो प्रेमीको र यस्तौ गरि नेतृत्वले जनताको चाहना, आवश्यकता बुझन् सघाउँछ, किनकि पुस्तकमार्फत अरुको दृष्टिकोणबारे जानकार भईन्छ ।

मलाई किन पढ्ने र किन पढ्न पर्छ भनेर कसैले विश्वस्त पार्न सकेका थिएनन् । बस, यसै मन लागेर पढियो । मुख्य कुरा कामको सिलसिलामा एकाकी हुंदा मलाई पुस्तक नै सहारा भए । कुनै उपन्यासका पात्रहरु साथी भए । उनीहरु मन मुटुलाई छुने गरि प्रेम गर्छन्, संवाद गर्छन् । बौद्धिक मन्थन गर्छन् । विना आग्रह, आफ्नो कुरा व्यक्त गर्छन् । विविध चरित्र, विविध दृष्टिकोण, विविध मनस्थिति, संस्कृति, विचारको सामना गरिन्छ । अलग संसारमा चाहार्न पाईने । हाम्रो मश्तिष्कलाई चाहिने खुराक । विज्ञान भन्छ, गतिलो पुस्तकले हाम्रो दिमागमा डोपामाईन, सेरोटोनिन, अक्सिटोसिन उत्पादन गरी आनन्द दिन्छ ।

पात्रहरुको चरित्र, मनस्थिती, संवेग, संघर्ष र रिजिलियन्सको संचार हामीमा गर्दछ । पात्रहरुको ठाउँमा आफुलाई राखेर हेरिन्छ, अरुको मर्म, दुख र सुखमा सहभागी भईन्छ । अहिले हामीले दैनन्दिन साथीभाई, ईष्टमित्रसंग पोलिटिकल्ली करेक्ट भाषा बोलिने पर्ने स्थिति छ । मानिसहरु असहिष्णु भएका छन् । आफुलाई प्रिय लाग्ने कुरा मात्र सुन्न र संवाद गर्न रुचाउनेको जमात बढ्दो छ । प्रियतावाद बढ्दो छ । आख्यानका चरित्रहरुका संवादहरुबाट अलग स्वाद पाईन्छ । तर वास्तविक संसारमा अरुलाई रिझाउन, खुशी पार्न मात्र गरिने संवादहरु हावी छन् । आख्यानका पात्रहरु सचिव संवाद गर्छन्, दिमागलाई चुनौति दिन्छन्, दार्शनिक वहस गर्छन् ।

The Science of Story Telling का विलियम स्टोर भन्छन्, आख्यान, कथा तथा नाटकले हामीलाई अकै संसारमा विचरण गराई यस संसारमा आईपर्ने परिस्थिति, माहोल, घटना र पात्रहरुसंग समाहित गराउंछ र हामीलाई ती पात्रले झेलेका समस्या, उल्झन, वेदना र संघर्षलाई उजागर गरि हामीलाई भविष्यमा आईपर्नसक्ने यस्तै परिस्थितीलाई सामना गर्न सिकाउंछ । मानव दिमाग अनिश्चिततामा अडिन सक्दैन र यसले आफै अर्थ पहिल्याउन, आफ्नो नजिकको वातावरणमा लय खोज्न र बुझिने प्याट्रन पहिल्याउन हरदम प्रयास रहन्छ । 

पुस्तकले यस्ता अनिश्चिततालाई पहिल्याउन सहयोग गर्दछ । त्यही भएर विदेशमा बच्चैदेखि बालबालिकालाई भविष्यमा आउन सक्ने परिस्थितीहरु, वयष्कका चरित्र, आचारण, मनस्थिति, संघर्ष र सफल हुनको लागि गरिनु पर्ने तयारीबारे मानसिकरुपमा अभ्यस्त गराउने चलन छ ।  अझ के पनि भनिन्छ भने, सुचनाको अत्यधिक प्रचुरता, सहरबजारका घुंइचो, कोलाहालबाट श्रृजित कर्कश आवाजमा लय, प्यार्टन र दिशा छिचोल्न पनि कलाजन्य पुस्तक, आख्यान, कविता, कथा आदिको आवश्यकता पर्दछ ।

मानिसमा मानसिक समस्या र अवसाद बढ्नुमा यस्तै कोलाहल परिस्थितिलाई चिर्न सक्ने क्षमता नहुँदा हुन्छ भनेर ब्राया बोडले अन द ओरिजिन अफ स्टोरिज इभोलुसन, कग्नीसन एण्ड फिक्सनमा उल्लेख गरेका छन् । उनी भन्छन्, जसरी शारिरिक खेलकुदले जनावर र मानिसलाई अप्ठेरो परिस्थितिको लागि तयार गर्ने, जुझ्न सघाउने र सामना गर्न सघाउँछ र त्यसैगरि आख्यान पुस्तकहरुले, मानिसको संज्ञानात्मक क्षमतामा वृद्धि गरि जटिल परिस्थिती र सावधानी अपनाउन मस्तिष्कको प्रयोग गर्नु पर्ने स्थितिको तयारी गराउँछ ।

अमेरिकाका बालरोग विशेषज्ञ डा. दिपेश नभसरिया त आफ्नो क्लिनिकमा बालबालिकाको उपचार गराउनुका साथै बालबालिकाको संज्ञानात्मक क्षमताको विकास गर्न आफैले बालकथा पढाउने अभियानमा सरिक भएका छन् । यो किन उल्लेख गरेको भने सक्षम, सबल र संतुलित नयाँ पुस्ता तयार गर्न विदेश कुन हदसम्म गईदोरहेछ र यसमा पुस्तकलाई कसरी उपयोग गरिएको छ भन्ने हो । साथै समाजका मुल्य, मान्यता, संस्कृति, अनि आफुजस्तै अन्य मानवलाई गरिनुपर्ने सम्मान, मर्यादा, समभावजस्ता गुणको बालबालिकामा संचार गर्न हामीले बालपुस्तक र आख्यानमार्फत मात्र सम्भव छ ।

हाल अरुको भावनालाई सम्मान नगर्ने, अरुको धारणालाई ग्रहण नगर्ने, जिद्धि, अरुको दृष्टिकोणलाई नसुन्ने, अरुलाई सम्मान नगर्ने, अहंकारी, नारसिसिष्ट जमातको वृद्धिमा सायद कतै हामीले स्टोरी टेलिङ संस्कृति चुकेको हो कि । अहिले पुस्तक पढ्ने भनेको स्कुल कलेज जाने, जाँचमा उत्तिर्ण गर्न, डिग्रि लिनमा केन्द्रित भएकोले धेरैलाई पुस्तक पढ्नु भनेको निरस, शुष्क र वेस्वादका पाठ पढ्नु हो भन्ने जस्ता भाव विकास भएको देखिन्छ । शिक्षक तथा अभिभावकको जोड पनि यिनै कुरामा बल छ । रोजगार र आत्मनिर्भर हुनकालागी ती ज्ञान आवश्यक हुन् । तर मानिसको मन, मस्तिष्क, आचरण, उदार र उदात्त भावनाको विकासमा कितावको जत्तिको ठुलो अरुको भुमिका देखिन्न ।

पुस्तक पढेर पाईने आनन्द निशुल्क छ । महंगो छैन । मैले कतै हेरेको, एउटा वृद्ध जापानिज विहान कवाडीका सामान बेच्छन् र दिउंसो फुर्सदमा आफु बस्ने स्थान नजिकको लाईब्रेरीमा गएर पुस्तक पढ्ने रैछन् , जिवनका रुखा क्षणहरु, अवसादपुर्ण समय, चुनौति, एक्लोपना आदिबाट श्रृजित स्थितिको सामना गर्न र मनलाई सिंचित गर्न । अहिलेका युवालाई यत्ती नै भनें, तिमिहरु पुस्तक पढ्न मन नलाग्नुमा सायद गतिलो पुस्तक फेला नपरेर होला । तर हामी पुस्तकमार्फत छोटो समयमा अरुका अनुभव, विचार, दृष्टिकोण, दर्शन, ज्ञान र संघर्षबाट बाटो देख्न सकिन्छ । आफैले यी सब भुक्तभोगी भएर सिक्नुमा यो एउटा जिवनले नपुग्ने हुन सक्छ ।

मैले पुस्तक पढ्ने बानीबाट के सिंके त ?

१. सबै मानिस (प्राणी सहित) समान हुन भन्ने जानें ।

२. मानिस मात्र विशिष्ट होईन भन्ने विनम्रता सिंके । र कोही मानिस कोही भन्दा कम वा वेशी होइन भन्ने बुझें ।

३. म झैं अरु पनि आफ्नै किसिमका संघर्ष, संवेग, भावना र समस्यामा रहेका हुन्छन् भन्ने बुझें ।

४. अरुलाई सम्मान गर्न सिंके ।

५. आफ्नो नियन्त्रणमा नरहेको वस्तुस्थितीलाई सहजरुपमा स्वीकार गर्न सिकें ।

६. आफ्नो भाग्य वा कर्मको निर्माता आफै हो भन्ने सिंके ।

७. सहनशिलता र सहिष्णु भावको विकास भएको छ ।

८. आफुलाई शान्त भावमा रहने कलाको विकास भएको छ ।

९. धैर्य गर्न सिकाएको छ ।

१०. कुनै पनि वेद, त्रिपिटक, गीता, रामायण, बाइबल आदि धार्मिक पुस्तक केवल मानव जातीलाई सत्कर्म, नियम, मर्यादामा रहन निर्माण गरिएका सुन्दर आख्यान हुन् भन्ने बुझें ।

११. बालबालिकालाई उनीहरुकै तहमा बुझ्न, ग्रहण गर्न, स्वीकार गर्न, सम्मान गर्न सिंके । आफ्नो जिवनसाथीलाई बुझन् सकें ।

१२. मैले के बुझें भने मैले धेरै कुरा जान्न बाँकी छ भन्ने कुरा बुझे ।

१३. हामी सत्यसंग डराउँछौं, असमञ्जस र अप्ठेरोसंग सत्यको सामना गर्छौं । त्यसको लागि हामीलाई आख्यानले एउटा काल्पनिक संसारमा लगेर सत्यसंग साक्षात्कर गराउँछौं । निल गायमनले भनेझैं आख्यान एक झुट हो जसले हाम्रो सत्यता उजागर गर्छ ।

१४. र अन्त्यमा सबै कुराको समाधान सहकार्य, समझदारी र संयुक्त प्रयासबाट सम्भव छ भन्ने बुझें ।

१५. मानवको उत्कृष्ट स्वरुपलाई भगवान भनिदो रैछ भने निकृष्ट रुपलाई राक्षस भनिदो रैछ भन्ने कुरा सिंके ।