Close This

मोरङ बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

बुधबार चैत ७, २०८०/ Wednesday 03-20-24
Paschim Today

७ फागुन, विराटनगर । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् ।

मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका-१ भेडाटोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोरा भने भागेर बाँचेका छन् । प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार ९दाउ०ले प्रहार गरेका थिए । गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लगत्तै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए । मृतकहरु निर्मला राईको घरमा चार वर्षदेखि डेरामा बस्दै आएका थिए । मंगलबार राति करिब २ बजे प्रहरीलाई घटनाको जानकारी आएको थियो, लगत्तै पुगेको प्रहरीले गीतालाई मृत अवस्थामा फेला पारेको थियो ।

गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाएको थियो । अस्पताल पुगे लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । प्रहरीका अनुसार पत्नीलाई दाउले प्रहार गरेका लिम्बूले सोही दाउले आफ्नो घाटी पनि रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

उनले छोरालाई पनि आक्रमण गर्न खोजेको तर छोराले भने भागेर ज्यान जोगाएका थिए । ‘पहिले पनि झगडा भइरहने रहेछ, घर झगडाकै कारण घटना भएको देखिन्छ’, डीएसपी दाहालले भने ।