Close This

सेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम २ अर्बमा झर्‍यो

सोमबार चैत १९, २०८०/ Monday 04-01-24
Paschim Today

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ०.९१ अंकले घटेर ३५५.६६ विन्दुमा अडिएको छ। यसअघि आइतबार नेप्से परिसूचक १७.३० अंकले घटेर २०१८.३३ विन्दुमा कायम भएको थियो।

आज ३१५ कम्पनीको ७२ लाख ९० हजार २०० कित्ता सेयर २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम आइतबारको तुलनामा कम हो। आइतबार ३ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो।

सामान्य अंकले गिरावट आएको बजारमा दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। गुराँस लघुवित्त वित्तीय संस्था र माइ खोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

माहुली लघुवित्त वित्तीयको ९.४४ प्रतिशतले मूल्य बढ्दा तारागाउँ रिजेन्सीको ७.२५ र ८.५ प्रतिशत प्रभु बैंक डेवेन्चर २०८७ को ६.३४ प्रतिशतले बढ्यो।

यसदिन रिभर फल्स पावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घट्यो। यसैगरी कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्ट अग्रस्थानमा रह्यो। सो कम्पनीको ४७ करोड २९ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

शिव सिमेन्टको ११ करोड,गोर्खाज फाइनान्सको ९ करोड,पिपुल्स पावर र माया खोला हाइड्रोपावर कम्पनीको ५र५ करोड मूल्य बराबरको सेयर कारोबार भयो। दुईवटा समूहको उपसूचकबाहेक अन्यको सूचक घटेको छ।होटल्सएण्ड टुरिजम र ट्रेर्डिङको सूचक बढ्दा अन्य समूहको सूचक घटेको हो। कारोबारमा आएका ८६ कम्पनीको मूल्य बढ्दा १५१ वटाको घट्यो भने ८ वटाको मूल्य स्थिर रह्यो।