Close This

रेशम–रञ्जिता बिबादको अन्तर्य

बुधबार चैत २१, २०८०/ Wednesday 04-03-24
दीर्घराज उपाध्याय ।

थरुहट आन्दोलनका क्रममा ७ भदौ, २०७२ मा सात सुरक्षाकर्मी एक नाबालक सहित आठ जनाको ज्यान जाने गरी भएको टीकापुर हत्याकाण्डपछि पहिचानवादी र पहिचान बिरोधीहरु दुई कित्तामा उभिए । पहिचान बिरोधीहरु रेशमलाई खलनायक अर्थात हत्याराका रुपमा हेर्न थाले । पहिचानवादीहरु खासगरी थारु समुदायका लागि त्यही घट्नापछि रेशम नायक बने ।

माओवादीले १० वर्षे सशस्त्र संघर्षका क्रममा देखाएको थरुहट स्वायत्त प्रदेशको सपनालाई पछ्याउदै शुरु भएको थरुहट आन्दोलनका क्रममा बिभत्स टीकापुर घट्ना हुन गयो । त्यतिबेला माओवादी भने यो मुद्दाबाट पछि हटिसकेको थियो ।

टीकापुर घट्नाको मुख्य आरोपी मानिएका रेशम उक्त घट्नापछि फरार भए । र, भारतमा लुकेर बसे । त्यही क्रममा २०७४ सालमा भएको प्रतिनिधि सभाको निर्बाचनमा भूमिगत रुपमै उम्मेदवारी दर्ता गरे । र, भारी मतले चुनाव जिते । सधै चुनावमा नराम्रोसंग पराजय भोग्दै आएका उनी त्यो चुनावबाट थारु समुदायको नायकका रुपमा उदाए ।

चुनाव जितेपछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरे । प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल सकियो । तर उनी जेलमुक्त भएनन । त्यहीबीचमा पुनरावेदन अदालतको निर्णय सदर गर्दै सर्बोच्च अदालतले उनलाई टीकापुर घट्नामा दोषी ठहर ग¥यो ।

उनले जेलबाटै नागरिक उन्मुक्ति पार्टी स्थापना गरे । र, २०७९ सालमा भएको तीनै तहका निर्बाचनमा उम्मेदवार उठाए । र, पार्टी स्थापना गरेको सय दिन नबित्दै भएको निर्बाचनमा उनले कतिपय निर्बाचन क्षेत्रमा पुराना दलका उम्मेदवारहरुलाई संघ, प्रदेश र स्थानीय तहमा क्लिन स्वीप गरे । यो जीत उनका लागि जेलबाट रिहा हुने माध्यम बन्यो । सत्ताको समीकरणमा उनको भोट र सहानुभूति आवश्यक बन्यो, र, उनीमाथि लागेका सबै आरोप र खतहरुलाई सत्ताको समीकरणले माफ गरिदियो । अनि उनी जेलबाट निस्किए ।

उनी जेलभित्र रहदा उनको मिसनलाई साथ दिदै आएकी थिईन, पत्नी रञ्जिता श्रेष्ठ चौधरी । त्यो मिसनले रञ्जितालाई कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्बाचित मात्र गरेन, राष्ट्रिय राजनीतिमा पहिचान दिलायो । त्यो पहिचानले उनी मन्त्री बनिन । रेशमको पत्नीका रुपमा मात्र रहेको उनको परिचय फेरियो, उनी सत्ता गठबन्धनको एउटा दलको अध्यक्ष थिईन, त्यसमाथि निर्बाचित प्रतिनिधि सभा सदस्य र मन्त्री । उनको यही परिचय पति रेशमबाट दूरी बनाउने एउटा कारण बन्यो ।

रेशम उनलाई पत्नीका रुपमा मात्र हेर्थे । रञ्जितालाई रेशमको पत्नीभन्दा पनि आफू नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष र मन्त्री हूँ भन्ने अहमता पलाईसकेको थियो । रेशम र रञ्जिताबीचको मूल जड नै यही बुझाई र असमझदारी हो । अहिले जे भईरहेको छ, त्यसको शुरुवातको बिन्दु यही थियो ।

रेडियाकर्मी, गीतकार, गायक, कराँतेका खेलाडी, मोडेल, फिल्मका नायक हुदै रेशम पनि राष्ट्रिय राजनीतिमा चिनिईसकेका थिए । जेलभित्र सबै दलका नेताहरु, प्रधानन्त्री र राष्ट्रपति पदका उम्मेदवारहरु भेट्ने क्रम बाक्लिएपछि रेशमको खुट्टाले भुईछोडिसकेको थियो ।

जेलबाट छुटेपछि उनले सार्वजनिक मञ्च र अन्तर्वार्तामा क्रममा दिएको अभिव्यक्तिबाट त्यो छनक पाउन कठिन हुदैन ।

बाहिरबाट हेर्दा नागरिक उन्मुक्ति पार्टी रेशमको परिवारदल जस्तो थियो । पत्नी र बुवा प्रतिनिधि सभा, उनी पार्टीको सुप्रिम कमाण्डर । तर बाहिर देखिएजस्तो परिवारका सदस्य उनीसंग थिएनन ।

थारु समुदायका ती अगुवाहरु नागरिक उन्मुक्ति पार्टीभित्र अटाएनन, जो वर्षौदेखि थारुहरुको पहिचान, अधिकार र राज्यसत्तामा समावेशिता र समान अधिकारका लागि लड्दै आएका थिए । थारु बुद्धिजीविहरु पनि समेटिएनन, जो सधै थारु समुदायको हकहीत र अधिकारका लागि बिभिन्न सार्वजनिक मञ्च र मिडिया मार्फत वकालत गर्दै आएका थिए । र, ती नेताहरु पनि नागरिक उन्मुक्तिको त्यो छाताभित्र गएनन, जो टीकापुर घट्ना हुने दिनसम्म आआफ्नो भूगोल र कार्यक्षेत्रबाट थरुहट आन्दोलनलाई उचाईमा पु¥याउन अहोरात्र खटिएका थिए ।

थरुहट आन्दोलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने बिभिन्न पार्टीका थारु शुभेच्छुक संस्थाका नेताहरु पनि रेशमले पार्टी खोलेपछि टाढिईसकेका थिए । यद्दपि जुनसुकै पार्टीको सदस्य तथा नेता भएपनि २०७९ मा भएका तीन वटै तहका निर्बाचनमा कैलाली, कञ्चनपुरका थारु समुदायका व्यक्तिहरुले नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह ढकियामा एउटा भोट हाले । नेपालको पश्चिम तराईको कैलालीमा जन्मिएको नागरिक उन्मुक्ति पार्टीले मध्य तराईसम्म पनि सहानुभूतिको भोट बटुल्यो । र, एउटा नयाँ शक्तिका रुपमा उसको उदय भयो ।

त्यही परिणामले रेशम जेलबाट निस्किए । रेशम जेलबाट बाहिर निस्किएपछि संभवत सबैभन्दा दुःखी हुने व्यक्तिका रुपमा चित्रण गरिदै आएकी पात्र हुन्, रञ्जिता चौधरी । रेशमले आफूलाई फेरि जेल हाल्ने षडयन्त्र भईरहेको अभिव्यक्ति दिएका छन्, जेल हाल्न खोज्ने व्यक्तिको नाम किटान नगरेपनि त्यो पात्र रञ्जिता हुन भन्ने कुरा बुझ्न गाह्रो हुदैन ।

किनकी रेशम जेल बाहिर निस्किएपछि रञ्जिताले कुनै पनि निर्णय आफ्नो बिबेकले गर्न पाईनन । अध्यक्ष भएर पनि अध्यक्षको अधिकार प्रयोग गर्न पाईनन । रञ्जिता मन्त्री त भईन, तर मन्त्रालय रेशमले चलाए । निर्णय रेशमले गरे ।

रेशम जेलभित्र हुदा रञ्जिताले राजनीतिमा जुन स्पेश पाईन, त्यो रेशम बाहिर निस्किदा मिल्दैन भन्नेमा उनी ढुक्क थिईन ।

भनिन्छ, सत्ताको स्वाद लागेको मान्छे र मान्छे खान पल्केको बाघ उस्तै हुन्छ । एक पटक सत्ताको पुगेको मान्छेलाई त्यही सत्ता चाहिन्छ । मान्छे खान पल्केको बाघलाई आहारामा मान्छे नै चाहिन्छ ।

पटक पटक नेताहरु पदलोलुप भए त्यसैले पार्टीमा समस्या आयो भनेर रेशमले भनिरहेका छन् । रेशमले कुनै नेताको नाम नलिएपनि रञ्जिता प्रति उनको त्यो आरोप लक्षित भएको बुझ्न कठिन हुदैन । त्यही पदलोलुपताले रञ्जिता सत्ताका लागि जस्तो सुकै कदम उठाउन तयार देखिन्छन ।

रेशम जेलमा भएको बेला नागरिक उन्मुक्ति पार्टी जन्मियो । रेशमले जेलमै पार्टीको बिधान लेखे । जेलमै रणनीति बनाए । जेलबाटै प्रचार गरे । चुनावमा रञ्जितालाई उठाए । तर जनताले रेशमकै अनुहार हेरेर रञ्जिता लगायतका उम्मेदवारलाई भोट दिए ।

ढकियामा छाप लगाउनेहरुले रञ्जिताको अनुहार हेरेर भोट हालेकै होईनन । न त उनको क्षमता, अनुभव र योगदान हेरेर भोट हालेका हुन् । यही सत्य हो ।

रञ्जिता अहिले रेशमलाई आफूले छुटाएको भन्छिन्, त्यसमा उनको योगदान नै नभएको भन्ने होईन । तर रञ्जिता त रेशमलाई जेलमै राखेर सत्तामा जान चाहन्छिन । रञ्जिता बालकोटबाट बा को आशिर्वाद लिएर एकाबिहानै डिल्लीबजार कारागार पुगिन ।  बाले आफूलाई उप प्रधान मन्त्री बनाउन लागेको खुशीको खवर रेशमलाई सुनाईन । रञ्जितालाई रेशमले जवाफमा भने, मन्त्री बन्ने भए, तिम्रो सिउँदोको सिन्दुर पुछ्, हातको चुरा फुटाउ । म जेलमा सड्ने, तिमी सत्तामा जाने हुदैन ।

रेशमले त्यही दिन आफूलाई जेलमा भेट्न आएका अन्य पार्टीका नेताहरुलाई रञ्जितालाई दिएको यो जवाफ सुनाएका थिए । यहाँनीर पनि रेशम रञ्जिताका लागि बाधक बने । तर जव रेशम छुट्ने निश्चित भयो, तव मात्र रञ्जिता मन्त्री बनिन । रञ्जिता मन्त्री भईन । रेशम जेलबाट उठे । मन्त्री भएपछि रञ्जिताको रवाफ बढ्यो । रेशमलाई यो चित्त बुझिरहेको थिएन । रञ्जिता स्वछन्दढंगले सत्ता चलाउन चाहिन्थन । उनलाई रेशमको हस्तक्षेप मन परिरहेको थिएन । रेशम भने मन्त्रीले गर्ने हरेक निर्णय सदर हुनुअघि आफूलाई जानकारी हुनु पर्ने जिकिर गर्न थाले । उनीहरुबीच त्यही विषयमा समेत खट्पट् हुन थाल्यो ।

रेशमले जेलबाट छुटेपछि पार्टीको महाधिबेशन बोलाए । महाधिवेशन मार्फत रञ्जिता अध्यक्ष बन्न चाहन्थिन । तर प्रतिनिधिले रेशमलाई रोजे । त्यसपछि उनी महाधिबेशनस्थलबाट बाहिरिईन । र, टीकापुरकै एक होटलमा गएर बसिन । रेशमले उनलाई मनाउने कोशिस गरे । सहअध्यक्षमा मनोनीत गर्ने प्रतिबद्धता गरे । उनी सहअध्यक्ष बस्न तयार भईनन । र, महाधिबेशन नसकिदै उनी काठमाण्डौं फर्किन ।

महाधिबेशनपछि रेशम र रञ्जिताबीच दूरी थप बढ्यो । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसंग नयाँ समीकरण बनाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विश्वासको मत लिएको भोलिपल्ट निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनलाई मान्यता दिएन । बरु रञ्जिताकै नेतृत्वमा रहेको पुरानो कमिटिलाई मान्यता दियो । रेशम पद बिहीन भए ।

निर्बाचन आयोगले अचानक पत्र हटाएर आफूलाई अध्यक्षको मान्यता नदिनु रेशमले रञ्जिता–दाहाल–ओलीको षडयन्त्र ठाने ।

त्यसयता रेशमले सार्वजनिक मञ्चहरुमा भन्दै आएका छन्, सरकारले हाम्रो पार्टी चलायो । नयाँ सत्ता समीकरणपछि मुलुकमा उथल पुथल गर्ने अभिव्यक्ति बारम्बार दिईरहेका प्रधानमन्त्री दाहालले त्यसको शुरुवात नागरिक उन्मुक्ति पार्टीबाट गरेका त होईनन ? प्रधानमन्त्रीले भन्नु र नागरिक उन्मुक्ति भित्र उथल पुथल हुनु संयोग मात्र मान्न सकिने अवस्था छैन ।

रेशम र रञ्जिता पक्षधर पार्टी कार्यालयमै भएको कुटपिट त्यो उथुलपुथलको निरन्तरता हो । र, २२ गते सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको भाग्य र भविश्य प्रदेश सभामा परीक्षण हुनेछ । यही दिनले उन्मुक्ति पार्टीको भाग्य र भविश्य समेत निर्धारण गर्नेछ । मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने अडानमा रहेकी रञ्जिता र मत दिने अडानमा रहेका रेशम, जहाँ उभिएपनि एक साथ उभिए, यो पार्टीमा तत्काल उथुल पुथल टर्नेछ, अन्यथा त्यो उथुल पुथलले उन्मुक्ति पार्टीमा सुनामी ल्याउने निश्चित छ ।

बिगतमा प्रचण्डप्रति नरम रहेपनि आफ्नो नेतृत्वको कमिटिलाई आयोगले मान्यता नदिएपछि क्रुद्ध भएका रेशम त्यही दिनदेखि नयाँ गठबन्धनको बिपक्षमा उभिएका हुन् । सरकारले साना पार्टीहरुलाई कमजोर बनाउन षडयन्त्र गरेको रेशमले त्यसयता आरोप लगाउदै आएका छन् ।

हुन् पनि रञ्जिताको रेशमभन्दा बढि भेटघाट दाहाल र ओलीसंग बढि छ । रञ्जिता जसरी पनि मन्त्री बन्न चाहन्थिन । अझ यस पटक उनको महत्वाकांक्षा उपप्रधानमन्त्री हुने थियो । उनलाई त्यसको ग्रिन सिग्नल पनि दाहालबाट प्राप्त भएको थियो । उनको महत्वाकांक्षामा तगारो बनिदिए, रेशम । रेशम र रञ्जिताबीच दूरी बढ्नुको मुख्य कारण यही हो ।

रेशमका बुवा समान, जो सधै रेशमको पक्षमा उभिए, तिनै दामोदर पण्डित पनि यस पटक भट्किए । त्यसको कारण पण्डितलाई प्रधानमन्त्री दाहालले गभर्नर बनाउन दिएको आश्वासन हो भन्ठान्नेहरु पनि छन् ।

रेशमले पार्टी निर्माणको शुरुवाती चरणमा बिभिन्न पार्टीमा खत, बात लागेकाहरुलाई स्थान दिए । आज तिनै मान्छे उनको बिपक्षमा छन् । जसलाई थारु मुद्दासंग कुनै सरोकार न हिजो थियो, न आज छ ।

रेशम र मुख्यमन्त्री शाहको गाउँ एउटै हो । उनीहरु छिमेकी हुन् । तर रेशमले सुदूर पश्चिम सरकारलाई समर्थन गरिरहनुको अर्थ मुख्यमन्त्री शाहसंग उनको निकटता वा मोह होईन । निर्बाचन आयोग मार्फत प्रचण्ड सरकारले आफूलाई पार्टीको अध्यक्षबाट बेदखल गरेको बद्लाभावबाट रेशमको यो निर्णय प्रेरित छ ।

रञ्जिताले प्रचण्ड सरकारलाई निशर्त समर्थन गरेकी होईनन, उनलाई दिने पद, र सरकारबाट पाएको आश्वासन नै, नयाँ गठबन्धनलाई उनले समर्थन गर्ने आधार हो ।

एकातिर थारुका मुद्दा यथावत छन् । अर्कोतिर त्यही मुद्दालाई भजाएर जन्मेको नागरिक उन्मुक्ति पार्टी बिघट्नको संघारमा छ । बिघट्नको कारण कुनै सैद्धान्तिक मुद्दा भने छैन । सत्तामा जाने विषय नै बिघटनको कारण बन्दैछ । बस्, फरक यत्ति छ, कि कसले चाहेको सरकारलाई समर्थन गर्ने, पति रेशमले चाहेको सरकारलाई कि ? पत्नी रञ्जिताले चाहेको सत्तालाई । पति पत्नीको झगडा र सत्ता स्वार्थमा बन्धक भएको छ, थारु मुद्दा ।

रक्सी भन्दा सत्ता खराव चिज हो त्यसै भनिएको होईन । रक्सीको नसा उत्रिन्छ । तर सत्ताको नशा सधैभरी रहिरहन्छ । नागरिक उन्मुक्ति पार्टीमा पनि भएको त्यही हो ।