Close This

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

बिहीबार बैशाख ६, २०८१/ Thursday 04-18-24
Paschim Today

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार लामालाई उच्च अदालतमा उपस्थित गराए पनि अदालतले रिहा गर्न आदेश दिएको हो।

लामाले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरिसकेको र सर्वोच्च अदालतले उनलाई तारेखमा राखेर मुद्दाको किनारा लगाउने आदेश गरेको पाइएपछि उनलाई रिहा गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता एसपी रविन्द्र रेग्मीले बताए।

यसअघि उनले सर्वोच्चमा पुर्नरावेदन गरेको नदेखिएको भन्दै उच्च् अदालतकै फैसला कार्यन्वयनका लागि प्रहरीले पक्राउ गरेको थियो। बुधबार पेप्सीकोलाबाट पक्राउ परेका लामालाई हिजो बिदा भएकाले अदालत लगिएको थिएन।

दावालाई लागुऔषध सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले ५ वर्ष कैद सुनाएको थियो। त्यसमध्ये उनले १० महिना कैद भुक्तान गरिसकेका छन्। २०६१ साउन ८ गते दावा काठमाडौंको वनस्थलीबाट ५ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए। २०६१ भदौ २५ गते जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

त्यसपछि उनी १० महिना जेलमा बसेपछि मुद्दामा जिल्ला अदालतले फैसला गरेको थियो। तर २०६२ जेठ १० गते जिल्ला अदालतले दावालाई कारोबारी नभई प्रयोगकर्ता मात्रै भएको ठहर गर्दै ६ महिना कैदको फैसला सुनाएसँगै उनी रिहा भएका थिए।

जिल्ला अदालतले ६ महिनामात्रै कैदको फैसला गरेपछि त्यसविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको थियो। उच्च अदालतले जिल्लाको फैसला नमिलेको भन्दै बदर गरेर दावालाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो।

२०६४ सालमा भएको उक्त फैसलाविरुद्ध दावाले सर्वोच्च अदालतमा पुनरावेदन गरिसकेको पाइएको हो। सर्वोच्चबाट उनको निवेदनमा फैसला हुन भने बाँकी छ।