Close This

राष्ट्रपति रनिङ सिल्ड : सुदूरपश्चिम पहिलोपल्ट च्याम्पियन

शुक्रबार बैशाख ७, २०८१/ Friday 04-19-24
Paschim Today

सुदूरपश्चिम प्रदेशले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको ट्रफी उचालेको छ । सुदूरपश्चिम १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदक जित्दै पहिलोपटक टिम च्याम्पियन बनेको हो ।

 

वाग्मती १७ स्वर्ण, १३ रजत र १५ कांस्यसहित दोस्रो भयो । तेस्रो स्थानको कर्णालीले १० स्वर्ण, ५ रजत र १६ कांस्य जितेको थियो । ८ स्वर्ण, ९ रजत र ९ कांस्य जितेको कोशी चौथो भयो । अघिल्ला तीन संस्करणमा लगातार उपाधि जितेको लुम्बिनी ६ स्वर्ण, ११ रजत र १८ कांस्यसहित पाँचौं स्थानमा रह्यो । सात प्रदेश टिमको सहभागिता रहेको प्रतियोगितामा ३ स्वर्ण, १० रजत र १३ कांस्यसाथ गण्डकी छैटौं तथा ३ स्वर्ण, ६ रजत र ९ कांस्यसाथ मधेश प्रदेश सातौं भयो ।

 

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा भएको प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडी सहभागी थिए । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो ।

६६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । एथलेटिक्सको छात्र/छात्रामा १३–१३ गरी २६ स्वर्ण, कराते, तेक्वान्दो र उसुको छात्र/छात्रामा ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र/छात्रमा १–१ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

सुदूरलाई कबड्डीमा दोहोरो स्वर्ण

कबड्डीमा सुदूरपश्चिम छात्र/छात्रा दुवैमा विजेता भयो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्रको फाइनलमा सुदूरपश्चिमले कोशीलाई ३२–२६ ले पराजित गर्‍यो । लुम्बिनी र मधेश तेस्रो भए । छात्राको फाइनलमा सुदूरपश्चिमले लुम्बिनीलाई ४०–२७ ले हरायो । कर्णाली र वाग्मती तेस्रो भए ।