Close This

सुदूरपश्चिममा एमालेको सिट थपिँदा नाउपाको ‘बार्गेनिङ पावर’ घट्यो

सोमबार बैशाख १७, २०८१/ Monday 04-29-24
Paschim Today

केन्द्रको सत्ता गठबन्धनसँग सुदूरपश्चिम प्रदेश सभामा स्पष्ट बहुमत नहुँदा त्यहाँ बलियो सरकार बन्न सकेको छैन। एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री भए पनि उनको नियुक्तिको वैधानिकतालाई लिएर सर्वोच्च अदालतमा प्रश्न उठेको छ।  
सुदूरपश्चिमको सत्ता समीकरणमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) निर्णायक भए पनि यो नवोदित पार्टी आन्तरिक मतभेदका कारण दुई धारमा विभाजित छ। नाउपामा कसको निर्णय र निर्देशनले वैधानिकता पाउने भन्ने विवाद पनि सर्वोच्च अदालतमै विचाराधीन छ।

कांग्रेस नेतृत्वको सरकार ढलेपछि एमाले–माओवादी गठबन्धनलाई पनि स्पष्ट बहुमत देखाउन कठिन भइरहेको छ। नउपाका २ सांसद मात्र यस गठबन्धनको पक्षमा देखिँदा बाँकी ५ सांसद कांग्रेस नेतृत्वको गठबन्धनको पक्षमा छन्।

अध्यक्ष रञ्जिता चौधरी एमाले नेतृत्वको गठबन्धनको पक्षमा छिन् भने कांग्रेसतिर ढल्किने समूहको नेतृत्व रेशम चौधरीले गरिरहेका छन्। 
बझाङ–१ मा भएको प्रदेश सभा सदस्य निर्वाचनको परिणामले भने अब नाउपा नहुँदा पनि एमाले, माओवादी र एकीकृत समाजवादीको गठबन्धनलाई सुविधाजनक अवस्था बनेको छ।

सुदूरपश्चिम प्रदेश सभामा एमालेका ११, सभामुखबाहेक माओवादीका १०, एकीकृत समाजवादीका ४ गरी तीन दलसँग २५ सिट भएका छन्। स्वतन्त्र सांसद डा। ताराप्रसाद जोशी पनि यही गठबन्धनको पक्षमा उभिएका छन्। उनलाई समेत गन्दा सत्तापक्षमा २६ सांसद हुन्छन्। 

अब ७ सिट रहेको नाउपालाई फकाउनुपर्ने बाध्यता यस गठबन्धनसँग रहेन। एउटा मात्र सिट भएको राप्रपालाई मनाए बहुमत पुग्ने भएको छ।

यसरी हेर्दा बझाङमा एमालेको जितले नाउपाको ‘बार्गेनिङ पावर’ घटेको छ। हिजो नाउपा निर्णायक छँदा कांग्रेस र एमाले दुवैतिरबाट मुख्यमन्त्रीको प्रस्ताव पाएको थियो। सरकारको नेतृत्व गर्ने अवसर पाउँदा पनि नाउपामा एकमत हुन सकेन। 

अब उसले चाहेर पनि नेतृत्व पाउन सहज हुने छैन। किनभने, कांग्रेस नेतृत्वको गठबन्धनले हालको सत्ता गठबन्धनको कुनै घटकलाई नतानेसम्म सरकार बनाउने सामर्थ्य राख्दैन। तर, सत्ता गठबन्धनलाई नाउपा नभए पनि बहुमत प्रदर्शन गर्न सक्ने ठाउँ छ। सुदूरपश्चिम प्रदेश सभामा २७ सांसद भए बहुमत पुग्छ।

त्यहाँ कांग्रेससँग १८ र नाउपासँग ७ सांसद छन्। नाउपा सिंगै कांग्रेसतिर लाग्दा पनि बहुमत पुग्न सक्दैन। अझै दुई सांसद आवश्यक पर्छन्। त्यसका लागि स्वतन्त्र र राप्रपाले साथ दिनुपर्ने हुन्छ। बरु सुदूरपश्चिममा राप्रपा निर्णायक भएर आउँदा उसैको ‘बार्गेनिङ पावर’ बढेको छ।