Close This

लागूऔषध कारोबारीविरुद्ध नेपाल–भारत सीमा सुरक्षाको संयुक्त अपरेसन

बिहीबार बैशाख २०, २०८१/ Thursday 05-02-24
Paschim Today

मौलाउँदो लागूऔषध कारोबारविरुद्ध नेपाल–भारत सीमा क्षेत्रका सुरक्षाकर्मीहरूले संयुक्त अपरेसन सुरु गरेका छन् । गत चैत्र अन्तिम साता भारतको पलियामा भएको सुरक्षाअधिकारीको समकक्षी बैठकमा कैलालीको तर्फबाट लागूऔषधको कारोबारमा संलग्नहरूविरुद्ध अपरेसन गर्ने सहमति भएको थियो ।

बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भारतीय कारोबारीको कारोबारस्थलमा छापा मारेर नियन्त्रण गर्नुपर्ने प्रस्ताव गरेका थिए । सोही समझदारीअनुसार नेपालका सुरक्षा अधिकारीले उपलब्ध गराएको विवरणका आधारमा भारतीय प्रहरीले कैलालीको धनगढी नजिक भारतीय बजार पलिया र बनगाउँबाट गत साता चार जना भारतीय कारोबारीहरूलाई ठूलो परिमाणमा ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

ड्रग्स किंग्स नामले चिनिने पलियाका अंकित गुप्तालाई २ सय ६० ग्राम ब्राउन सुगर बरामदसहित भारतीय प्रहरीले पक्राउ गरेको कैलालीका प्रजिअ मिश्रले बताए । गुप्तालाई यसअघि वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दा काठमाडौं प्रहरी परिसरले चलाइएको र फरार रहेका अभियुक्त पनि हुन् । यस्तै पलियाकै बिक्की गुप्ताबाट एक सय ३० ग्राम ब्राउन सुगर बरामद गरिएको छ । उनीमाथि जिल्ला प्रहरी कार्यालय कैलालीले यसअघि लागूऔषधसम्बन्धी मुद्दा चलाएर जिल्ला अदालतबाट ६ वर्ष १० महिना ७ दिन कैद तथा जरिवाना तोकिएको थियो । उनी फरार थिए ।

यस्तै बनगाउँबाट सनी गुप्ता र सचिन गुप्ताबाट पनि भारतीय प्रहरीले २७ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रजिअ मिश्रले बताए । कैलालीकै सीमा नाका भजनी, कुसुमघाट र टीकापुर क्षेत्रमा लागु पदार्थ कारोबार गर्ने भारतीय कारोबारीहरूको सूची बनाई पठाइएको र भारतीय प्रहरीले उनीहरूको खोजीकार्य भइरहेको जानकारी दिएको कैलाली प्रशासनले जनाएको छ । पछिल्ला वर्षमा कैलाली लगातयका क्षेत्रका युवाहरू लागूऔषधबाट आक्रान्त छन् ।