Close This

मुख्यमन्त्री सोडारी आज पनि विश्वासको मत लिने तयारीमा, थप चिढियो एमाले

शनिबार बैशाख २२, २०८१/ Saturday 05-04-24
Paschim Today

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज पनि विश्वासको मत लिने तयारी गरेका छन् । हिजो विश्वासको मत पाउने सम्भावना क्षीण भएपछि आजको लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।

 

हिजो साँझ ५ बजे बोलाइएको प्रदेश सभा बैठक बस्दै नबसी स्थगित भएको थियो । ८ बजेको लागि बोलाइएको कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेन । नेकपा एमालेले केन्द्रमा परामर्श नगरी र आन्तरिक छलफल नगरी मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएपछि हिजोको बैठक स्थगित गरिएको हो ।

आज साझ ५ः३० बजे विश्वासको मत लिने गरि प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

मुख्यमन्त्री सोडारीले आजको लागि बैठक सारिदिन सभामुखलाई आग्रह गरेका थिए । मुख्यमन्त्रीको आग्रह पछि विश्वासको मत लिने तयारी आजलाई सरेको हो।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरिरहेका बेला नेकपा एमाले भने थप चिढिएको छ । शुक्रवारको बैठक पनि आफूहरूसँग सल्लाह नगरी राखिएको र शनिवार पनि परामर्श बिना नै मुख्यमन्त्रीले सारेको एमालेले संसदीय दलका नेता राजेन्द्र रावलले बताए ।

‘हामीले विश्वासको मत नदिने भनेकै छैनौँ अहिले किन हतार गर्नु पर्‍यो ’ उनले भने, ‘हिजो पनि हामीसँग सल्लाह नगर्ने आजको लागि पनि सल्लाह नगर्ने यसरी हुन्छ ।’

बझाङको उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताएको छ ।
बझाङमा हाम्रो एक जना सांसदको बुवाको निधन भएको १५ दिन पनि बितेको छैन । ‘उहाँले धनगढी आउन दिनुपर्दैन ’ ,रावल भन्छन्, ‘कोही व्यक्तिलाई हतार भयो भन्दैमा हामीले छलफल परामर्श नगरी विश्वासको मत दिने भन्ने हुँदैन । ’

हिजो तत्काल केन्द्रीय नेतृत्वसँग परामर्श नगरी विश्वासको मत नदिने बताएपछि तत्काल आजको लागि बैठक राख्दा पनि आफूहरूसँग छलफल भएको भन्दै रावलले भने, ‘यसरी मननौजी गरेर हुन्छ । यो गठबन्धनको सरकार हो । सबै दलसँग सल्लाह गर्नु पर्छ । कसैले एकलौटी भन्दैमा विश्वासको मत दिने भन्ने हुँदैन ।’

आज आफूहरू जिल्लामा नहुने भनेर मुख्यमन्त्रीलाई र सभामुखलाई जानकारी गराउँदा पनि विश्वासको मत दिनको लागि बैठक आह्वान गरेको प्रति उनले रुष्टता व्यक्त गरेका थिए ।