Close This

विश्वासको मत पाउन मुख्यमन्त्री सोडारीलाई सकस

आइतबार बैशाख २३, २०८१/ Sunday 05-05-24
Paschim Today

कैलाली । वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी वैशाख २ गते ५ बजे सम्म कांग्रेससँगको सहकार्यमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन समर्थन दिएका थिए ।

 

केन्द्रमा आफूले मुख्यमन्त्री नपाएपछि कांग्रेससहितको सरकार तयार गरेर नाउपाका सांसदलाई मुख्यमन्त्रीमा समर्थन दिएका सोडारीलाई अहिले त्यहि विषय गलपासो बनेको छ ।

सत्ता गठबन्धनमै हुँदा पनि कांग्रेससँग मिलेर सरकार बनाउन लागेको भन्दै अझैसम्म सोडारीलाई विश्वासको मत दिन एमाले तयार भएको देखिँदैन । मुख्यमन्त्रीमा समर्थन गर्दा पनि अन्तिम समयमा मात्रै अध्यक्ष केपी शर्मा ओलीले फोन गरेपछि सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए ।

सरकारलाई समर्थन गरेको एमाले अहिले सम्म विश्वासको मत दिन तयार भएको देखिएको छैन । मुख्यमन्त्री सोडारीले बझाङ निर्वाचनपछि विश्वासको मत पाउने आश्वासन पाएका थिए तर, अहिले बझाङबाट निर्वाचित दमन भण्डारीले शपथ नलिए सम्म एमालेले विश्वासको मत नलिनेमा उनी विश्वस्त भइसकेका छन् ।तर, त्यस अघि नै दुई पटक सम्म मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिसकेका छन् जुन प्रयास असफल भएको छ ।

शुक्रबार विश्वासको मत लिने गरि तयारी गरेका मुख्यमन्त्री सोडारीले एमालेले विश्वासको मत नदिने बताएपछि शनिवार साँझ ५ः३० बजे सम्मको लागि बैठक स्थगित गरे । एमालेलाई मनाउने गरि बैठक स्थगित गरेका मुख्यमन्त्रीले अर्को बैठक राख्दा पनि छलफल नगरेको भन्दै एमाले थप चिढियो ।

शुक्रवारको बैठक पनि आफूहरूसँग सल्लाह नगरी राखिएको र शनिवार पनि परामर्श बिना नै मुख्यमन्त्रीले सारेको एमालेले संसदीय दलका नेता राजेन्द्र रावल बताउँछन् ।

‘हामीले विश्वासको मत नदिने भनेकै छैनौँ अहिले किन हतार गर्नु पर्‍यो ’ उनले भने, ‘ बैठक राख्दा वा स्थगित गरेर अर्को आह्वान गर्दा हामीसँग सल्लाह गर्नु गरिएन ।’शनिवार पनि एमालेले विश्वासको मत नदिने देखिएपछि अनिश्चित सम्मको लागि प्रदेश सभा बैठक स्थगित गरिएको छ ।

विश्वासको मतका विषयमा केन्द्रीय नेतृत्वसँग परामर्श गर्न शनिबार नै एमाले नेताहरू काठमाडौँ गएका छन् । एमाले संसदीय दलका नेता राजेन्द्र बहादुर रावल, नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह लगायतका नेताहरू काठमाडौँमा छन्।

रावल पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै भेटेर सुदूरपश्चिमको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने तयारीमा छन्। ओली भने शनिबार रसुवा पुगेका छन्।

रसुवाबाट फर्केपछि भेट गरेर बाँकी छलफल अघि बढ्ने बताउँदै समाजवादी किन यति धेरै डराएको भन्नेबारे आफूहरू चकित भएको उनले बताए।

अहिले एमाले बाहेकका अन्य दलहरू मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन तयार भएको देखिन्छ । तर, एमाले भने केन्द्रमा छलफल नभएको भन्दै तत्काल विश्वासको मत लिन नसकिने बताउँदै आएको छ ।

एमाले किन रुष्ट  ?

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले केन्द्रीय नेतृत्वले सुरुबाटै सोडारी बाहेकका अन्य जो भएपनि मुख्यमन्त्रीमा समर्थन गर्ने जनाएको थियो । तर, एमालेमा हुँदा साधारण सदस्यबाटै बर्खास्त गरेको हुँदा सोडारीको नाममा सहमति गर्न सुरुमै सकस भएको थियो । त्यही बेला एमालेले नेकपा एसबाट अन्य कसैको पनि नाम दिन प्रस्ताव गरेको थियो । तर, नेकपा एसको सचिवालयले सोडारी कै नाममा निर्णय गरेपछि एमालेलाई दबाब बढ्यो ।

आफै मुख्यमन्त्री बन्न भन्दा दुई दिन अघि सम्म एमाले र माओवादीलाई बाहिर राखेर सरकार निर्माणको प्रयास गरेको, अख्तियार र सम्पत्ति शुद्धीकरणले छानबिन गरिरहेको, एमालेमा रहँदा नैतिक पतन भएको भन्दै पार्टीले साधारण सदस्य बाटै कारबाही गरिएको र नेकपा एकीकृत समाजवादी विभाजन हुँदा एमालेका १४ जना सांसद लिएर गएको भन्दै सोडारीप्रति एमाले रुष्ट एमाले एक नेताले बताए ।

अहिले सोडारीलाई एमालेले विश्वासको मत नदिने पक्षमा एमाले नरहेको तर, केही दिन अझै पर्खिनु पर्ने एमालेको अडान छ । एमालेले तत्काल किन विश्वासको मत लिन चाहिरहेको छैन त रु यसमा दुई कारण छन् ।

सोडारी मुख्यमन्त्री नियुक्त हुँदा नागरिक उन्मुक्तिका सांसद लक्ष्मणकिशोर चौधरीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्नेमा असंवैधानिक ढंगले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आइतबारसम्म सर्वोच्चले सबै सक्कल कागजातहरू मगाएको छ । सर्वोच्चले गर्ने फैसलाले सुदूरपश्चिममा सोडारी सरकारको भविष्य निर्धारण हुने केही नेताहरूको दाबी छ ।

सर्वोच्चको पेशी भन्दा अघि नै विश्वासको मत लिए सरकारमा बहुमत रहेको पुष्टि हुने र फैसला अनुकूल आउन सक्ने सोडारीको बुझाइ रहेको छ । त्यही भएको हुँदा एमालेसँग निर्णायक छलफल नगरेरै मुख्यमन्त्रीले विश्वासको मत दिन हतार गरेको एमाले नेताहरू बताउँछन् । अहिले सम्म मन्त्रालयको भागबन्डा पनि नभएको हुँदा र विश्वासको मत लिने समय बाकी नै रहेको हुँदा सोडारीले हतार गरिरहेको उनीहरुको बुझाइ छ ।

एमाले नेताहरू पनि सोही फैसला पर्खिएको हुन सक्ने विश्लेषण गरिएको छ। एमाले दुई पटक सम्म विश्वासको मत नदिने अडान लिएपछि अहिले प्रदेश सभा बैठक नै अनिश्चित बनेको छ । नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावल भने थप छलफल र परामर्श गरेर विश्वासको मत लिने मिति निर्धारण गरिने बताउँछन् ।

तत्काल एमालेले विश्वासको मत नदिने अडान लिँदा मुख्यमन्त्री सोडारीले विश्वासको मत नपाउने हुन् कि भन्ने विषयमा पनि चर्चा सुरु हुन थालेको छ । मुख्यमन्त्री सोडारीले भने आफूले छिट्टै विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन् । शनिबार महेन्द्रनगरमा आयोजित अमर सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानको २३ औँ वार्षिक साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशन उद्घाटन गर्दै उनले विश्वासको मत लिने विषयमा समस्या पैदा भएको तर, नपाउने नै अवस्था भने नरहेको बताए ।

‘हिजो विश्वासको मत लिने कुरा थियो केही कारणवश स्थगित गरेँ, यस्तै छ कम्युनिस्टहरूको सबै जोडेर नि बहुमत पुग्दैन’, उनले भने, ‘सकस त छ, अलि बढी नै मिहेनत गर्नुपर्छ। सकस भएपनि विश्वासको मत पाउनेमा म विश्वस्त छु, छिट्टै विश्वासको मत पाउँछु।’