Close This

ओलीको सन्देश सुनाउँदै रावलले भने- सुदूरपश्चिममा विश्वासको मत दिन हतार गर्ने बेला भएको छैन

सोमबार बैशाख २४, २०८१/ Monday 05-06-24
Paschim Today

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

 

एमाले अध्यक्ष केपी शर्मा ओली तथा महासचिव शङ्कर पोख्रेलसँगको संवादपछि संसदीय दलका नेता रावलले प्रदेशमा आफ्ना सांसदहरूलाई भेटवार्ताको विषयमा जानकारी गराएका हुन् ।

उनले मुख्यमन्त्री सोडारीले अहिले विश्वासको मतको लागि हतार गरिरहेको भए पनि आफ्नो पार्टीले त्यस विषयमा थप परामर्श र छलफल गरिरहेको सांसदहरूलाई जानकारी गराएका थिए ।

रावलले शनिबार ओली र पोख्रेलसँग भेटवार्ता गरेका थिए । भेटमा रावलसँग प्रमुख सचेतक सुरेन्द्र पाल पनि थिए ।

‘हामीलाई केन्द्रीय अध्यक्ष र महासचिवले सुदूरपश्चिम प्रदेशमा हतार गर्नुपर्ने अवस्था नरहेको र छलफलपछि मात्रै यस विषयमा निर्णय लिइने बताउनुभएको छ’, उनले सांसदहरूलाई भने, ‘विश्वासको मत नलिने भन्ने होइन, कहिले दिने भन्ने विषयमा छलफल जारी छ ।’

मुख्यमन्त्री सोडारीले वैशाख २० गते नै विश्वासको मत लिने तयारी गरेका थिए । तर, एमालेले शीर्ष नेताहरूसँग परामर्श नगरी विश्वासको मत दिन नसकिने बताएपछि सोडारीले २१ गते ५ बजेका लागि आह्वान गरेको बैठक २२ गते ५ः३० बजेको लागि सार्न लगाएका थिए । एमालेले परामर्श नगरी बैठक आह्वान गरेको भन्दै तत्काल विश्वासको मत नलिने दोहोर्‍याएको थियो ।

अध्यक्ष ओली र महासचिव पोख्रेलले पनि तत्काल हतार नगर्न भनेपछि अहिले एमालेले विश्वासको मतका लागि शीर्ष नेताहरूको निर्देशन पर्खने भएको छ ।

सोमबार एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा र सांसद चक्र मल्लले पार्टीको नीति र निर्देशनअनुसार अगाडि बढ्ने बताएका थिए । उनीहरु दुबै जनालाई दलका नेताले अध्यक्ष र महासचिवसँग भएको संवादहरूको बारेमा जानकारी गराएका हुन् ।