Close This

धनगढीमा मर्निङ वाकमा दुर्घटनामा परेकी पन्तको निधन

मंगलबार बैशाख २५, २०८१/ Tuesday 05-07-24
खेमराज उपाध्याय

धनगढी, २५ बैशाख ।

धनगढीमा मर्निङ वाकमा दुर्घटनामा परेकी ईन्द्रादेवी पन्तको ६८ औं दिनमा निधन भएको छ ।

६८ दिनदेखि माया मेट्रो अस्पतालमा भेन्टिलेटरमा उपचाररत ७० वर्षीया पन्तको सोमवार दिउँसो करीव दुई बजे निधन भएको हो ।

फागुन १६ गते मर्निङ वाकमा निस्किएकी धनगढी उपमहानगरपालिका–५ तारानगरकी पन्तको खुट्टा मिनि ट्रकमा अल्झिएको टेलिकमको तारमा बेरियो । र, ट्रकले तानेर पाँच सय मिटर जति सडकमा घिसारेपछि उनी गम्भीर रुपले घाईते भईन ।

सोही दिनदेखि भेन्टिलेटरमा उपचाररत पन्तको सोमवार निधन भएको हो । पन्तको उपचारमा परिवारजन र आफन्तले २८ लाख रुपैया भन्दा खर्चेका छन् ।

मृतक पन्त क्याप्टेन बेद उप्रेतीकी दिदी हुन् । कलकत्तामा रहेका क्याप्टेन उप्रेती दिदीको मृत्युको खवर सुनेपछि आज बिहान कलकत्ताबाट जहाजमा लखनउ र त्यहाँबाट गाडीमा महेन्द्रनगर आईपुगेका छन् ।

दिदीको मृत्युमा दुःख व्यक्त गर्दै उप्रेतीले सामाजिक सञ्जालमा लेखेका छन्, मर्निङ वाकमा जादा अरुको लापरवाहीका कारण सडक दुर्घटना भएपछि विगत ६८ दिनसम्म आईसीयूमा जीवनसँग संघर्ष गरिरहेकी मेरी दिदी इन्द्रादेवी पन्तको दुःखद निधन भएको छ । उनी ६० दिनसम्म कोमा र भेन्टिलेटरमा थिइन् । मैले अन्तिम क्षणसम्म पनि आशा हारेको थिइनँ। मेरो मन हरेक दिन दिदीको लागि रोएको थियो। म उनको हाँसो, उनको उपस्थिति, र उनको न्यानो मायाको याद गर्छु। म उनीसँग बिताएको समय र उहाँले गर्नु भएको आमाको सेवाको लागि पनि कृतज्ञ छु। उहाँ सधैं भरी मेरो हृदयमा बसी राख्नु हुनेछ। दिदीलाई मेरो हार्दिक श्रद्धाञ्जली  छ ।

मृतक पन्तको मंगलवार (आज) दिउँसो २ : ३० बजे कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली नदीमा दाहसंस्कार गरिने परिवारजनले जनाएका छन् ।

पिडीत परिवारले क्षतिपूर्ति र उपचारको माग गर्दै धनगढी उपमहानगरपालिका, नेपाल टेलिकम, गाडी चालक, गाडी धनी र गाडी भाडामा लिने व्यक्तिका बिरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतले पिडीत परिवारका पक्षमा फैसला सुनाउदै पन्तको सम्पूर्ण उपचार खर्च धनगढी उपमहानगरपालिका, नेपाल टेलिकम, गाडी चालक, गाडी धनी र गाडी भाडामा लिने व्यक्तिलाई व्यहोर्न निर्देशन दिएको छ ।