Close This

राति चोर आयो भनेर खबर गरेकी वृद्धा बिहान मृत फेला

बुधबार बैशाख २६, २०८१/ Wednesday 05-08-24
Paschim Today

झापा : झापामा एक जना वृद्धा मृत फेला परेकी छन्। बुधबार बिहान ६ बजेतिर बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित एक घरमा ६८ वर्षीया विष्णुमाया विष्ट मृत फेला परेकी हुन्।  उनको टाउकोमा चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिए।

शंकास्पद देखिएसँगै प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ। डिएसपी चन्दका अनुसार उक्त घरमा वृद्धा एक्लै बस्थिन्। राति करिब ११ बजेतिर उनले घरमा चोर आएको भनेर गुहार मागेको खुलेको प्रहरीले जनाएको छ।  वडाध्यक्ष राहुल शर्माका अनुसार राति चोर आएको भनेर घरमा होहल्ला भएको थियो। 

त्यसपछि छिमेकीहरू उनको घरमा पुगेका थिए। तर चोर भेटिएको थिएन।  ‘आमाले चोर आएको भनेर खबर गर्नुभएको रहेछ। खबर गरेपछि छिमेकी घरमा गएर हेर्न जानुभयो। आसपास पनि हेरेका रहेछन्,’ वडाध्यक्ष शर्माले भने, ‘तर भेटिएन। नभेटिएपछि सबै घर गएका थिए।’

घरमा गएपछि पनि छिमेकीले ती वृद्धालाई करिब राति १२ बजेतिर फोन गरेका थिए। फोन गर्दा वृद्धाले आफूले ढोका लगाएर सुतिसकेको जानकारी दिएको वडाध्यक्ष शर्माले बताए।

‘ढोका लगाएर सुतिसकेको भन्नुभएको रहेछ। तर बिहान छिमेकी हेर्न जाँदा मृत भेटिनुभयो,’ उनले भने। 

छिमेकी बिहान करिब ६ बजेतिर वृद्धाको घरमा हेर्न गएका थिए। बिहान छिट्टै उठ्‍ने वृद्धा नउठेको भन्दै छिमेकी हेर्न जाँदा उनको शव फेला परेपछि छिमेकीले प्रहरीलाई खबर गरेका हुन्। अनुसन्धान गर्ने टोलीले घटनास्थलको मुचुल्का गरी शव पोष्टमर्टमका लागि धरानस्थित प्रादेशिक अस्पतालमा पठाएको छ। धरानबाटै प्रहरीले तालिम प्राप्त कुकुर समेत झिकाएर अनुसन्धान अघि बढाएको छ। 

प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको छ।