Close This

ललितपुर मेयर महिला क्रिकेट : सम्झनाको अर्धशतकसँगै सुदूरपश्चिमले कोशीलाई हरायो

सोमबार बैशाख ३१, २०८१/ Monday 05-13-24
Paschim Today

काठमाडौँ । ललितपुर मेयर महिला क्रिकेट प्रतियोगिताको सोमबार सम्पन्न दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले जित हासिल गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई १९ रनले हराएको हो । 

जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर–११ लाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १६ रनले हराएको थियो । 

सुदूरपश्चिम प्रदेश दुई खेलबाट चार अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा आसीन छ । समान खेलबाट समान अंक बटुलेको एपीएफ क्लब तालिकाको पहिलो स्थानमा छ । सुदूरपश्चिम प्रदेश नेट रन रेटमा एपीएफ क्लबसँग पछि परेको हो । 

कोशी प्रदेशको भने प्रतियोगितामा यो लगातार दोस्रा हार हो । यसअघि आफ्नो पहिलो खेलमा कोशी प्रदेशको टोली एपीएफ क्लबसँग २४ रनले पराजित भएको थियो । कोशी प्रदेश अंक तालिकाको चौथो स्थानमा आसीन छ । 

सोमबारको खेलमा टस जिती पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय १२ रन बनाएको थियो । सुदूरपश्चिमका लागि सम्झना खड्काले अर्धशतक बनाएकी थिइन् । उनले ५१ बलमा चार चौकाको मद्दतले ५४ रन बनाइन् । उनी प्लेयर अफ दी म्याच पनि घोषित भइन् ।

सुदूरपश्चिमका लागि रितु कनौजियाले पनि २३ रनको योगदान गरिन् । कप्तान बिन्दु रावलले १४ रन बनाइन् । कोशी प्रदेशकी बलर सबनम राई, हिरनमयी रोय र सङ्गीता राईले दुई–दुई विकेट लिए । सुदूरपश्चिमले अतिरिक्त रूपमा पनि ११ रन पायो ।

जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने निर्धारित ओभरमा सात विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो । कोशी प्रदेशका लागि काजल श्रेष्ठले ३३ र कप्तान अप्सरी बेगमले २३ रन बनाएका थिए । अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका बलर रितु कनौजिया, लक्ष्मी साउद, जानकी थापा र बिन्दु रावलले एक–एक विकेट लिए ।