Close This

एप्पललाई पछि पार्दै एनभिदिया बन्यो विश्वकै दोस्रो मूल्यवान कम्पनी

बिहीबार जेठ २४, २०८१/ Thursday 06-06-24
Paschim Today

काठमाडौं । एप्पललाई पछि पार्दै चिप निर्माता कम्पनी एनभिदिया विश्वकै दोस्रो मूल्यवान कम्पनी बनेको छ । बुधवार पाँच प्रतिशतले शेयर मूल्य वृद्धि भएपछि एनभिदिया ३० खर्ब १० अर्ब डलर बढीको कम्पनी बनेको हो । 

यसअघि ३० खर्ब डलरको आँकडा एप्पलले पार गरेको थियो । अहिले पनि प्रतिशेयर १९५.८७ डलरका साथ एप्पल इंकको कूल मूल्य ३० खर्ब डलर रहेको छ । बुधवार प्रतिशेयर १२२४ डलरले बढेपछि ३० खर्ब बराबरको कम्पनीको होडमा एनभिदिया थपिएको छ । अहिले ३० खर्ब १५ अर्ब डलर भ्यालुका साथ माइक्रोसफ्ट शीर्ष स्थानमा छ ।

 

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्सको चर्चा बढेपछि एनभिदियाको मूल्य पनि आकासिंदै गएको हो । एनभिदियाले एआई क्षेत्रमा काम गर्ने कम्पनीलाई ‘फ्ल्यागशिप एच १०० चिप’ उपलब्ध गराउँदै आएको छ । एआई क्षेत्रमा उल्लेखनीय रूपमा लगानी वृद्धि भइरहेको छ । 

मे २०२३ मा एनभिदिया १० खर्ब डलर बराबरको कम्पनी बनेको थियो । त्यसपछि गत फेब्रुअरीमा मात्र यस कम्पनीको मूल्य २० खर्ब डलर पुगेको थियो । त्यसको चार महिनामै कम्पनीको शेयर मूल्य १० खर्ब डलरले बढेको छ । 

 

गत मेमा कम्पनीले चिप बिक्री गरेर १४ खर्ब डलर नाफा गरेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

के हो एनभिदिया ? कसरी बन्यो विश्वकै मूल्यवान कम्पनी ?

प्रविधि क्षेत्रमा रूचि राख्नेहरू त्यसमा पनि एआईलाई आत्मसात गर्नेहरूका लागि ‘एनभिदिया’ परिचित नाम हाे । अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले यस कम्पनीलाई चर्चाको शिखरमा पुर्‍याएको छ ।

कम्प्युटर चिप निर्माण तथा वितरणमा चर्चित एनभिदियाकाे चर्चा हुनुकाे पछाडि च्याटजीपीटी रहेकाे छ ।

तीन कम्पुटर चिप इन्जिनियरले सन् १९९३ मा एनभिदिया स्थापना गरेका हुन् । उनीहरूले त्यतिबेला नै कम्प्युटरका लागि शक्तिशाली चिप आवश्यक पर्ने कुराको भविष्यवाणी गरेका थिए ।

पछि सन् २००० मा कम्पनीले माइक्रोसफ्टको एक्सबक्स गेमिङ कन्सोलका लागि चिप निर्माण गर्ने सम्झौता गर्‍यो । त्यही समयदेखि एनभिदिया भिडिओ गेमको बजारमा विस्तार हुँदै गइरहेको छ । भिडिओ गेममा मात्र नभएर फिल्म, टेलिभिजन, म्युजिक उद्योगमा पनि एनभिदियाले बजार कब्जा गरेको छ । 

तर, पछिल्लो समय च्याटजीपीटी तथा अन्य एआई च्याटबटको चर्चाले एनभिदियाको शेयरमूल्य आकाशिएको हो । ओपनएआईले च्याटजीपीटी, गुगलले ‘पाल्म टु’ (PaLM 2) लाई ठूलो सङ्ख्याका डेटाद्वारा तालिम दिनका लागि शक्तिशाली चिपसेट आवश्यक परेको थियो ।

ती कम्पनीले आवश्यक जीपीयू चिप एनभिदियाबाट खरिद गरेका थिए । केही वर्षदेखि एनभिदियाको व्यापार मोडेल एआईमा केन्द्रित छ । तर, विगत डेढ दुई वर्षदेखि एआई टुलले सर्वाधिक चर्चा पाउँदा एनभिदियाको शेयर बढेको हो । 

एआई प्रविधि 

एआई मोडेललाई तालिम दिनका लागि ठूलो मात्राको मेमोरी स्टोरेज आवश्यक छ । जसले गर्दा कम्प्युटर चिपको माग बढ्दो छ । झन् पछिल्लो समय माइक्रोसफ्टको बिङ, गुगलको जेमिनाई, मेटाको लामा थ्री  र ओपनएआईको च्याटजीपीटीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ ।

जसले गर्दा उनीहरू आफ्ना एआई टुललाई शक्तिशाली बनाउनतर्फ केन्द्रित छन् । यसका लागि उनीहरूलाई आवश्यक चिप एनभिदियाले उपलब्ध गराउँछ । यही कारणले चिपको माग बढ्दा कम्पनी मूल्य पनि बढिरहेको छ ।

एनभिदियाले तयार पार्ने आठ ओटा सबैभन्दा अत्याधुनिक चिपको सेटलाई तीन लाख डलर पर्ने बताइएको छ । यस्ता कम्पनीले आफ्नो च्याटबटलाई तालिम दिन हजारौं चिप खरिद गर्नुपर्ने हुन्छ । यसरी चिपका लागि एनभिदियामा निर्भर हुनुपर्दा ठूला कम्पनीहरूले ठूलो रकम गुमाइरहेका छन् । त्यसैले पनि खर्च कटौती गर्न ठूला कम्पनीहरू आफैं चिप निर्माण गर्नमा केन्द्रित हुने देखिन्छ ।

जसरी एप्पलले चिपका लागि अन्य कम्पनीमा निर्भर हुने अवस्था हटायो, त्यसरी नै अन्य कम्पनीले पनि त्यही लय सम्हाल्ने अपेक्षा गरिएको छ ।

वर्षौंदेखि गुगलले आफ्नै ‘टेन्सर प्रोसेसिङ युनिट’ विकासमा काम गरिरहेको छ भने माइक्रोसफ्ट र अमेजनजस्ता कम्पनी पनि आफ्नै चिप निर्माण गर्ने कार्यमा केन्द्रित छन् ।

एनभिदियाले भने अव वार्षिक रूपमा नयाँ नयाँ एआई चिप सार्वजनिक गर्ने तयारी अगाडि सारेको छ । यो वर्ष क्याकवेल बी २०० जीपीयू सार्वजनिक गर्दै कम्पनीले आफ्नो नयाँ योजना अगाडि सार्ने अपेक्षा गरिएको छ ।