Close This

महाकाली अस्पतालद्वारा अनाथालय र वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर

शनिबार जेठ २६, २०८१/ Saturday 06-08-24
Paschim Today

कञ्चनपुर, जेठ २६ गते । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले भीमदत्त नगरपालिका स्थित महाकाली बाल अनाथालय र महिला तथा वृद्ध सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण एवम् औषधि वितरण गरेको छ ।

आज अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वृद्धसेवा केन्द्रमा रहेको ३० जना वृद्धवृद्धा र अनाथालयमा रहेका २५ जना बालबालिकाको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेको हो । महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा।अर्जुन भट्टले भने, “सहजरुपमा स्वास्थ्य सेवा पाउन नसकेका बस्तीमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धसेवा केन्द्र र अनाथालयमा पनि निःशुल्क स्वास्थ्य जाँच एवम् औषधि वितरण गरेका हौँ ।” 

महिला तथा वृद्ध सेवा केन्द्रमा रहेका तीस जना वृद्धवृद्धाको स्वास्थ्य परीक्षण एवम् औषधि वितरण गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले अस्पतालले विकट बस्ती र स्वास्थ्य सेवामा पहुँच नभएका स्थानमा स्वास्थ्य शिविर आयोजना गर्ने गरेको जानकारी दिए । “यसअघि दोधारा चाँदनी र लालझाडीको विकट बस्तीमा विशेषज्ञ चिकित्सकको स्वास्थ्य शिविर आयोजना गरेका थियौँ ।” अध्यक्ष भट्टले भने, “सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष अस्पतालले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।”

महाकाली अञ्चल बाल अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीले दाताको भरमा सञ्चालन भइरहेको अनाथालयमा अस्पतालले औषधि उपचार गरिदिँदा थप सहयोग पुगेको बताए । “अनाथालय दाताको दानले चलिरहेको छ राज्यपक्षबाट सहयोग हुन सकेको छैन ।” उनले भने, “अनाथालय दैनिक सञ्चालनमा समस्या भइरहेका बेला अस्पतालले औषधि उपचार गरिदिँदा सहज भएको छ ।” उहाँका अनुसार अनाथालयमा २५ जना बालबालिका रहेका छन् । उहाँहरुको पालनपोषण दाताकै भरमा भइरहेको छ । रासस