Close This

धनगढी नगरप्रमुख शैक्षिक सुधार कोषमा एनएमबी बैंकको साढे ५२ हजार

आइतबार जेठ २७, २०८१/ Sunday 06-09-24
Paschim Today

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले विपन्न बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न भनेर स्थापना गरिएको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गर्ने संख्या बढ्दै गएको छ ।

विपन्न बालबालिकाहरुको नियमित पठनपाठनका साथै शैक्षिक गुणस्तर सुधार्न भनेर स्थापना गरिएको सो कोषमा विभिन्न संघसंस्था तथा ब्यक्तिले आर्थिक सहयोग गर्दै आएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

सोहि क्रममा निजी क्षेत्रको एनएमबी बैंक धनगढी शाखाले पनि ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गरेको छ । विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्य सामग्री खरिदका लागि भनेर सो बैंकले आइतबाबार ५२ हजार ५०० रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बैंकले नगरप्रमुख शैक्षिक सुधार कोषमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका १० जना बालबालिकाका लागि पोसाक खरिद गर्न सो रुपैयाँ सहयोग गरेको जनाएको छ ।

धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन थालेको छ । ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ‘ड्रप आउट’ हुन नपरोस् भनेर नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको हो ।

सो कोषमा उपलब्ध रकमले विपन्न परिवारका बालबालिकाकाहरुलाई विद्यालय पोसाक तथा पाठ्य सामग्री उपलब्ध गराई ‘ड्रप आउट’ रोक्न सहयोग पुग्ने उपमहानगरनगरपालिकाको भनाई रहेको छ ।

कोषमा यसअघि काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलका संस्थापक शिवराज पन्तले पाँच लाख र हिमालयन बैंक धनगढी शाखाले एक लाख ९९ हजार ५००, माछापुच्छ्रे बैंक धनगढी शाखाले चार लाख ९७ हजार रुपैयाँँ सहयोग गरेका थिए ।

त्यसैगरी, प्रभु बैंक धनगढी शाखाले ५२ हजार ५०० र भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले पाँच लाख २५ हजार रुपैयाँ विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारका लागि भनेर सहयोग गरेका थिए ।