Close This

भारत–पाकिस्तान खेल हेर्न अमेरिका पुगेको मुम्बई क्रिकेटका अध्यक्षको हृदयाघातका कारण निधन

मंगलबार जेठ २९, २०८१/ Tuesday 06-11-24
Paschim Today

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा भारत र पाकिस्तानबिचको खेल हेर्न अमेरिका पुगेका मुम्बई क्रिकेट एसोसिएसनका मानार्थ अध्यक्ष अमोल कालेको हृदयाघातका कारण निधन भएको छ ।

 

 

४७ वर्षीय कालेको हृदयाघातका कारण सोमबार राति अमेरिकाको न्यु योर्कमा निधन भएको समाचारमा जनाइएको छ । उनी जुन नौ तारिखमा खेलिएको भारत र पाकिस्तानबिचको खेल हेर्न रङ्गशाला पनि पुगेका थिए ।

 

न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको त्यो खेलमा भारतले पाकिस्तानलाई ६ रनले हराएको थियो । काले मुम्बई क्रिकेट एसोसिएसनका सचिव अजिनक्या नायक र अर्का साथी सुरज समतसँगै खेल हेर्न रङ्गशाला पुगेका थिए ।

अमोल काले सन् २०२२ को अक्टोबरमा मुम्बई क्रिकेट एसोसिएसनको अध्यक्ष बनेका थिए । उनले अध्यक्ष पदका लागि भएको निर्वाचनमा चर्चित क्रिकेटर सन्दीप पाटिललाई हराएका थिए । पाटिल भारतलाई सन् १९८३ मा एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जिताउने टोलीका खेलाडी हुन् ।

अमोल कालेकै सक्रियतामा मुम्बई क्रिकेट एसोसिएसनले रणजी ट्रफी र अन्य घरेलु प्रतियोगिता खेल्ने आफ्ना खेलाडीको पारिश्रमिक र म्याच फि दोब्बर बनाएको थियो ।