Close This

अष्ट्रेलियामा रहेकी एलिनाले रुँदै भिडिओ बनाएपछि फ्यानहरु तरंगित

मंगलबार जेठ २९, २०८१/ Tuesday 06-11-24
Paschim Today

काठमाडौं । विवाहपछि अष्ट्रेलिया पुगेकी गायिका एलिना चौहानले एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्, जसलाई लिएर उनका फ्यानहरूलाई चस्का परेको छ ।

भिडिओमा एलिनाको अनुहारमा राता ‘डामहरू’ छन् र उनी रोइरहेकी छन् ।

खासमा यो उनले अभिनय गरेर बनाएको भिडिओ हुन सक्छ र अनुहारका डामहरू नक्कली हुन सक्छन् । तर, एलिनाको गीत चयन र लेखेको ‘क्याप्सन’ पनि अर्थपूर्ण छ ।

एलिनाले भिडिओ बनाइएको भारतीय गीतको बोल छ- ‘थारा पैसा, थारी दौलत, थारी गाडी थारा नाम थारा बङ्गला थारा काम, तुम्ही रखो रे’

यो गीतको भावार्थ हो- ‘तिम्रो पैसा, तिम्रो सम्पत्ति, तिम्रो गाडी, तिम्रो नाम, तिम्रो घर, तिम्रो काम, तिमीसँगै राख ।’

यस्तै क्याप्सनमा एलिनाले लेखेकी छन्, ‘एउटा वास्तविक पुरुषले तपाईँलाई त्यस बेला पनि सम्मान गर्छ, जब उ तपाईँप्रति बहुला भएको हुन्छ । यो सम्झिनु ।’

अर्को भिडिओमा लेखेकी छन्, ‘हेपाइ सहनका लागि कारण होइन प्रेम । राम्रो गीत ।’

एलिनाले कसलाई ईंगित गरेर लेखेकी हुन् भन्ने प्रष्ट छैन । तर, उनको यस्तो भिडियो र पोस्टले फ्यानहरुमा खैलाबैला सुरु भएको छ । कमेन्टमा धेरैले श्रीमान्–श्रीमतीबीच केही खटपट भएको हो कि भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । कतिले चाहीँ भाइरल हुन नाटक गरेको आरोप पनि लगाएका छन् ।

गत वैशाखमा बाग्लुङका विष्णु सापकोटासँग बिहे गरेर एलिना अष्ट्रेलिया गएकी हुन् । अष्ट्रेलियामा विष्णुका विभिन्न व्यवसाय छन् । एलिनाले श्रीमानको व्यवसायमा पनि साथ दिएकी छन् । विष्णुले एलिनालाई पनि देखाएर आफ्नो व्यवसायको प्रवर्द्धनात्मक भिडिओहरू पोस्ट गरिरहेका हुन्छन् ।

हालै एक अन्तरवार्तामा एलिनालाई उनी नेपाल नफर्किने हो कि भनेर सोधिएको थियो । एलिनाले आफू आवश्यकता अनुसार नेपाल आउने बताइन् । आफू संगीतबाट टाढा हुन नसक्ने भन्दै उनले अहिलेको डिजिटल जमानामा जहाँ बसेर पनि नेपाल गीत गाउन सकिने धारणा राखिन् । तीन दिनअघि मात्रै एलिनाले अष्ट्रेलियाको नेप मेलो स्टुडियोमा तीनवटा नयाँ गीत रेकर्ड गरेको भन्दै भिडियो हालेकी थिइन् ।

सांगीतिक करिअर उत्कर्षमा रहेको बेला अष्ट्रेलिया भासिएपछि एलिनाका फ्यानहरु भने दुखी छन् । बिहेअघिसम्म एलिना राष्ट्रिय अन्तर्राष्ट्रय कन्सर्टहरुमा औधि व्यस्त थिइन् । अहिले पनि नेपालमा उनको चर्को डिमान्ड छ ।