Close This

सुदूरपश्चिम र लुम्बिनीका तराई भूभागमा तीन दिन तातो हावा चल्ने

मंगलबार जेठ २९, २०८१/ Tuesday 06-11-24
Paschim Today

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा आगामी तीन दिन तातो हावा चल्ने बताएको छ।

लुम्बिनी र सुदूरपश्चिमको तराई भूभाग केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ।

धनगढीको अधितकतम तापक्रम सोमबार ४४ डिग्री सेल्सियस थियो। नेपालगञ्जको ४३.६, दिपायलको ४०.७ र वीरेन्द्रनगरको ४०.९ डिग्री सेल्सियस थियो।

आइतबार धनगढीको तापक्रम ४२.९, नेपालगञ्जको ४२.६, दिपायलको ४०.२ र वीरेन्द्रनगरको ४०.४ डिग्री सेल्सियस रहेको थियो।

शनिबार धनगढीको तापक्रम ४१.९, नेपालगञ्जको ३९.५, वीरेन्द्रनगरको पनि ३९.५ डिग्री सेल्सियस नै मापन गरिएको थियो।

गत शुक्रबार धनगढीको ४०.७, नेपालगञ्जको ४०.६, दिपायलको ३८.७, वीरेन्द्रनगरको तापक्रम ३७ डिग्री सेल्सियस मापन गरिएको थियो।

 

अहिले बिहान धनगढीको तापक्रम ४४.०, दिपायलको ४०.७, वीरेन्द्रनगरको ४०.९ र नेपालगञ्जको तापक्रम ४३.६ डिग्री सेल्सियस रहेको थियो।

देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएको महाशाखाले जनाएको छ।

 

यसकारण आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यी स्थानमा  आगामी ३ दिन (जेठ २९ गतेदेखि जेठ ३१सम्म) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाले बताएको छ।

तातो हावा तथा तातो लहरले थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि समस्या निम्त्याउनसक्ने महाशाखाले बताएको छ।

तातो हावा तथा तातो लहरबाट बच्न घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहन पनि महाशाखाले सुझाव दिएको छ।

कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव देखिएको छ। इलाम लगायत भूभागमा पानी परिरहेको छ।

महाशाखाका अनुसार यसपालि सरदरभन्दा तीन दिन छिटो मनसुन भित्रिएको छ। औसत जुन १३ मा भित्रने मनसुन यसपालि सोमबार पूर्वी भेगबाट नेपाल प्रवेश गरेको हो।

देशभर फैलन भने तीन दिन लाग्ने महाशाखाले बताएको छ।