घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातीको गणना सुरु
कैलाली, जेठ २९ गते । जैविक विविधताले महत्त्वपूर्ण तथा पहिलो चरा अभय आरण्य क्षेत्र कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातीको गणना सुरु गरिएको छ । चरा संरक्षण नेटवर्कको आयोजनामा मङ्गलबारदेखि घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातीको गणना सुरु गरिएको हो ।
घोडाघोडी ताल सूचक प्रजातीको रुपमा हरीहाँस, मगरगोही र जंगली धानलाई आधार मानेर सन् २००३ मा रामसार साइडमा सूचीकृत भएको हो । चरसंरक्षण नेटवर्कका कार्यबाहक अध्यक्ष नवराज न्युरेले घोडाघोडीमा जाडो र गर्मी दुई सिजनमा चरा गणना हुँदै आएको जनाउँदै यसपटक सूचक प्रजातीको गणना सुरु गरिएको बताए ।
रामसार साईडमा घोडाघोडी सूचीकृतहुदा हरिहाँसको सङ्ख्या एसियामै भएको सङ्ख्याको एक प्रतिशत अर्थात् एक हजार सङ्ख्यामा हरिहाँस रहेको अभिलेख छ । घोडाघोडीमा अन्य चराहरुको सङ्ख्या घटेसँगै हरिहाँसको सङ्ख्या पनि घट्दै गएको गणनाको रेर्कडमा उल्लेख छ ।
संरक्षणकर्मी रामबहादुर चौधरीले चोरीसिकारी र असुरक्षित वासस्थानका कारण हरिहाँसको सङ्ख्या घट्दै गएको बताए ।
उनले भने, “तीनवटा सूचक प्रजातीमध्ये मगरगोहीको सङ्ख्या बढ्दै गएको छ । जङ्गलीधान पनि मासिएको छैन । तर हरिहाँसको सङ्ख्या घट्दै गइरहेको छ । ३५० देखि ४०० को हाराहारीमा हरिहाँसको सङ्ख्या रहेको विगतको रेर्कडमा उल्लेख छ । यसपटक गणना ।पछि एकिन तथ्याङ्क आउने छ ।”
डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुरले सूचक प्रजाती संरक्षणका लागि चोरी सिकारी मुख्य चुनौती रहेको औँल्याउदै नियन्त्रणका लागि आवश्यक सहयोग रहने बताए । गत माघमा घोडाघोडीमा रैथाने र पाहुनागरी एकहजार २३१ सङ्ख्यामा जलपन्छी गणना भएको थियो ।
नेपाल पन्छी संरक्षण संघका फिल्ड मेनेजर तथा चराविद् हिरुलाल डंगौराले गतवर्षको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको जनाउँदै सङ्ख्या घटबढ भइरहने उल्लेख गरे । घोडाघोडी सिमसार क्षेत्रमा पाइने पन्छीहरुमध्ये ७० प्रजातीका जलपन्छी रहेका छन् । संरक्षणकर्मीहरुका अनुसार पन्छीको सङ्ख्यामा फेरबदल हुनु पारस्थितिकीय प्रणालीमा आएको परिवर्तन मुख्य कारण हो ।
चराविदका अनुसार सन् २००३ मा रामसार साईडमा सूचीकृत हुँदा घोडाघोडी क्षेत्रमा २० हजारको सङ्ख्यामा जलपन्छी रहेको पाइएको थियो । दुई शकको अवधिमा घोडाघोडीमा जलपन्छीको सङ्ख्या एक हजार २३१ मा सिमिति भएको छ । समग्रमा घोडाघोडी सिमसार क्षेत्रमा दुई दशक अवधिमा जलपन्छीको सङ्ख्या घटेको पाइएको छ ।
घोडाघोडी क्षेत्रलाई रामसारमा सूचीकृत गर्ने बेला सरकारले पेस गरेको प्रतिवेदनमा यस क्षेत्रमा रैथाने र पाहुना गरी २० हजार जलपन्छी रहेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा मात्र पाइने चरामध्ये हरिहाँस, बगाले सीमकुखुरा र नादुल हाँसले घोडाघोडीमा प्रजनन गर्ने उक्त प्रतिवेदनमा उल्लेख थियो । सन् १९८७ देखि बर्षेनि सिमसारमा आश्रित पानीचराको गणना गरिँदै आएको छ । गणनाले जलपन्छीको अवस्था सङ्कट उन्मुख देखाएको छ ।
वर्षेनी गणनामा संलग्न चराविद्का अनुसार रैथानेमा नट्टा हाँस २०१८ पछि देखिएको छैन । आगन्तुकमा कैले टाउके हाँस, बिजुला गैरी हाँस, सुनजुरे हाँस, सिन्दुरे हाँस, खडखडे हाँस, हरियो टाउके हाँस गत वर्ष नदेखिएका चरा यो वर्ष देखिएको चराविद् डंगौराले बताए। उनका अनुसार सुइरेपुछ्रे हाँस २०१४ यता घोडाघोडीमा देखिएको छैन । पाहुना चराको रुपमा आउने मरुलको सङ्ख्यापनि पहिलाभन्दा निक्कै कम देखिन थालेका छन् ।
नेपाल पन्छी संरक्षण संघका अनुसार घोडाघोडीमा जलपन्छी, वन क्षेत्रमा बस्ने चरा, घाँसे मैदानमा हुने चरा, खेतबारी र खुला स्थानमा बस्ने गरी तीन सय ८० प्रजातिका चरा रहेको अभिलेख छ । -गोरखापत्र
तपाईको प्रतिक्रिया