सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगमा प्रध्यापकहरूले नै लगाइदिए ताला

मंगलबार श्रावण १५, २०८१/ Tuesday 07-30-24
Paschim Today

महेन्द्रनगर : सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी गरिएको छ । सोमबार सेवा आयोगले आन्तरिक प्रतियोगिताद्वारा स्थायी गर्नका लागि विज्ञापन आह्वान गरेपछि विश्वविद्यालयका छवटा प्राध्यापक संघहरूले सेवा आयोगमा अनिश्चितकालिन तालबन्दी गरेका हुन् ।

 

सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय क्याम्पसका सभापति किशोर बोहराले सेवा आयोगले आन्तरिक प्रतियोगितामा केन्द्रीय क्याम्पसलाई छुटाएको भन्दै तालाबन्दी गरेको बताए । 'केन्द्रीय क्याम्पसमा विश्वविद्यालयमा स्थापनाकालदेखिनै कार्यरत शिक्षकलाई सेवा आयोगले छुटाएको छ,'बोहराले भने, 'विश्वविद्यालय सभाले पास गरेका एकै प्रकृतिका निर्णयमा समेत विभेद गरियो ।” 

उनले विश्वविद्यालय सभाबाट पारित भइ कार्यकारी परिषद्ले निर्णय गरेर सेवा आयोगलाई सिफारिस गर्दा समेत सेवा आयोगले एकै प्रकृतिका सिफारिसहरूमा विभेद गरेको बताए ।  यसअघि पनि विश्वविद्यालय सेवा आयोगको कार्यालयमा आंगिक क्याम्पसमा प्राध्यापकदेखि कर्मचारीको समायोजनाको माग गर्दै ताला लगाइएको थियो । 

उक्त समायोजनको मुद्दा अदालतसम्म पुगेको थियो । अदालतको फैसलाले विज्ञापन खोल्ने बाटो खुलेपछि सेवा आयोगले आन्तरिक विज्ञापन खोले पनि केन्द्रीय क्याम्पस छुटाएको भन्दै प्राध्यापक संघहरूले विरोध जनाएका हुन् ।

 

केन्द्रीय क्याम्पसमा कार्यरत शिक्षण सहायक पदका शिक्षकलाई विशेष आन्तरिक प्रतियोगिताद्वारा स्थायी गर्ने नियम विश्वविद्यालयको सर्वोच्च निकाय विश्वविद्यालय सभाबाट पारित भइ कार्यकारी परिषद्ले निर्णय गरेर सेवा आयोगलाई सिफारिस गर्दा समेत सेवा आयोगले केन्द्रीय क्याम्पसमा कार्यरत शिक्षक मात्र छुट्ने गरी विज्ञापन खोलेको उनीहरूको आरोप  छ ।