केरलाको वायनाडमा पहिरोका कारण १३० जनाको मृत्यु, ९० जना बेपत्ता

बुधबार श्रावण १६, २०८१/ Wednesday 07-31-24
Paschim Today

एजेन्सी : भारतको केरला राज्यको वायनाड जिल्लामा मंगलबार पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुगेको छ। ९० जना अझै बेपत्ता भएका छन्।

घाइते १३१ जना स्थानीय अस्पतालमा उपचा भइरहेको बीबीसीले जनाएको छ। सोमबार र मङ्गलबार राति १ बजेदेखि ४ बजेको बीचमा तीनवटा पहिरोले वायनाडको चुरामाला, मुन्डक्काइ जस्ता क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो।

मुख्यमन्त्रीको कार्यालयका एक अधिकारीले भने, ‘मृतकको संख्या अहिले १३० पुगेको छ।’ सूर्यास्तपछि पनि सेना, नौसेना, वायुसेना, एनडीआरएफ र दमकलको सहयोगमा उद्धार कार्य जारी रहेको उनले जानकारी दिए।

पहिरो प्रभावित क्षेत्रमा मुसलधारे पानी परिरहेको छ। मुन्डक्काई चिया बगान भएको सानो सहर हो, जहाँ असम र पश्चिम बंगालका ठूलो संख्यामा मानिसहरू काम गर्छन्।

चुरलमाला र मुन्डक्काइ बीचको पुल बग्दा एनडीआरएफका उद्धार टोलीहरूले सबैभन्दा ठूलो समस्या सामना गरिरहेका छन्। मुख्यमन्त्री पिनाराई विजयनले पहिरो प्रभावित दुई महत्वपूर्ण स्थानमा अस्थायी पुल निर्माण गर्न सेनासँग सहयोग मागेका छन्। तर, सेना त्यहाँ पुग्नुअघि नै एनडीआरएफले डोरीको सहायताले शव निकालेर घाइतेहरूलाई अस्पताल पुर्यायो।

चुरलमला र मुन्डक्काइमा उद्धार कार्य जारी रहेका बेला निलाम्बुर वन क्षेत्र र मल्लपुरमको चालियार खोलामा पनि मानव शवका अङ्ग तैरिएको केही प्रत्यक्षदर्शीले बताएका छन्। अधिकारीहरूले यस क्षेत्रमा कम्तीमा ३० शव फेला परेको पुष्टि गरेका छन्।

केरला सरकारका वन मन्त्री एके ससिधरनले एनडीआरएफ टोलीहरू डोरीको उद्धार कार्यमा संलग्न रहेको बताए। त्यसकारण पनि केही बढी समय लाग्ने उनको भनाइ छ।