बालेन-सुनिताको 'फेक' भिडियो प्रकरण: फार्मेसीमा बसेर एआईलाई 'कमान्ड' दिन्थे बाजुराका रमेश
बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ घर भएका २२ वर्षीय रमेशबहादुर रावत तीन दिनदेखि नेपाल प्रहरी साइबर ब्यूरोको हिरासतमा छन् ।
सिन्धुपाल्चोकमा डेरा गरी बसेका रावतमाथि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मार्फत राष्ट्रपतिदेखि, प्रधानमन्त्री र मेयर-उपमेयरसम्मको फोटो तथा भिडियो दुरुपयोग गरेर सामाजिक सञ्जालमा अपलोड गरेको आरोप छ ।
पछिल्लोपटक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोललाई जोडेर बनाइएको एआई भिडियो बाहिरिएपछि उनी पक्राउ परेका हुन् ।
अनुसन्धानका क्रममा उनैले भिडियो बनाएको देखिएको हो ।
प्रहरीले रावतबाट मोबाइल बरामद गरेको छ । मोबाइलमा अन्य उच्चपदस्थ व्यक्तिको फोटोसमेत फेला परेको छ । फार्मेसी पढेका रावतले मोबाइलमा एआई प्रयोग गरेर बनाएका अन्य फोटोहरू पनि राखेका थिए ।
साइबर ब्यूरोका प्रवक्ता एवं उपनिर्देशक दीपकराज अवस्थीका अनुसार रावतसँग बुधबारबाट बयान लिइने छ ।
सिन्धुपाल्चोकमा मेडिकल पसल सञ्चालन गरेर बसेका रावतले विगत डेढ महिनादेखि मात्रै उच्चपदस्थको मानसम्मान आघात पुर्याउनेगरी एआईमार्फत फोटो र भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दै आएको ब्यूरोले जनाएको छ ।
ब्यूरोका एक अनुसन्धान अधिकृतका अनुसार रावतले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उनकी श्रीमती एवं परराष्ट्रमन्त्री आरजु राणा देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत दलका नेता र नगरपालिकाका मेयर-उपमेयरलाई लक्षित गरेर एआई प्रयोग गरी फोटो तथा भिडियो बनाएका थिए ।
ब्यूरोले रावतको मोबाइल र ल्यापटपको डेटा रिकभरीका लागि फरेन्सिक ल्याबमा पठाएको छ ।
‘रावतको मोबाइलमा एआई प्रयोग गरिएका थुप्रै फोटोहरू फेला परेको छ,’ एक अनुसन्धान अधिकृतले भने, ‘मानसम्मानमा आघात पुग्नेगरी राष्ट्रपतिदेखि प्रधानमन्त्री र सभामुख हुँदै प्रधानन्यायाधीशसम्म सबैको एआई प्रयोग गरेर फोटो बनाएको देखिन्छ ।’
ब्यूरोले बुधबारदेखि रावतको बयान लिन शुरू गर्नेछ । हिरासतमा रहेका रावतले सामाजिक सञ्जालमा आफैं फोटो तथा भिडियो पोस्ट गर्ने र त्यसैलाई घरिघरि आफैं रि–पोस्ट गर्दै आएको ब्यूरोले जनाएको छ ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले ब्यूरोमा उजुरी दिएकी छिन् । तर, मेयर बालेनले भने उजुरी नदिएको पाइएको छ ।
‘कतिपय अवस्थामा हामीले प्रहरी प्रतिवेदनकै आधारमा पनि साइबर अपराध गर्नेलाई पक्राउ गर्दै आएका छौं,’ ब्यूरोका प्रवक्ता अवस्थीले भने, ‘रावतका हकमा पनि उच्चपदस्थ व्यक्तिको मानसम्मानमा आघात पुग्नेगरी फोटो तथा भिडियो बनाएर सामाजिक सञ्जालमा राखेको पाइएपछि पक्राउ गरिएको हो ।’
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहयोगमा गत आइतबार पक्राउ गरिएका रावतविरुद्ध ब्यूरोले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद पाएको थियो । एसपी अवस्थीले रावतले कुनै राजनीतिक दल वा कसैबाट परिचालित भएर यस्तो हर्कत गरेका हुन् वा आफूखुसी गरेका हुन् भन्ने विषयमा उनको बयानबाट थाहा हुने बताए ।
उनले भने, ‘रावतको उमेर र उनले सम्हालेको पेशा अनुसार उनले गर्दै आएका हर्कत त्यति सापेक्षित देखिँदैन तर, किन गरेका रहेछन् ? हामी बुझ्छौं ।’
तपाईको प्रतिक्रिया