सेनाले माग्यो २८० अधिकृत क्याडेट (विज्ञापनसहित)

शुक्रबार भदौ ७, २०८१/ Friday 08-23-24
Paschim Today

 नेपाली सेनाले अधिकृत क्याडेट पदमा २८० जनशक्ति माग गरेको छ । खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी सेनाले शुक्रबार आवेदन माग गरेको हो ।

सेनाले खुलातर्फ सबैभन्दा धेरै १४७ सिटमा आवेदन मागेको छ । त्यस्तै, महिलातर्फ २४, आदिवासी/जनजातितर्फ ३८, मधेसीतर्फ ३३, दलिततर्फ १८, पिछडिएको क्षेत्रतर्फ ६ र सैनिक तालिम, कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ सिटमा विज्ञापन गरिएको छ ।

प्रमाणपत्र तह उत्तीर्णका हकमा १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको र स्नातक तह उत्तीर्णको हकमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेकाले अधिकृत क्याडेट पदमा आवेदन दिन सक्नेछन् ।

आवेदन सिंगल दस्तुर तिरेर आगामी असोज ५ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज १२ गतेसम्म दिन सकिनेछ ।

भर्ना छनोट निर्देशनालय र देशका सात वटै पृतनाबाट आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ ।