हमासले इजरायलमाथि गरेको आक्रमणविरुद्ध अमेरिकामा मुद्दा

बुधबार भदौ १९, २०८१/ Wednesday 09-04-24
Paschim Today

वाशिङ्टन डीसी । गएको वर्ष अक्टोबर ७ मा इजरायलमाथि प्यालेष्टिनी सशस्त्र समूह हमासले हमला गरेको थियो । सो हमलालाई लिएर अमेरिकाले हमासका नेता याह्या सिनवारलगायत कयौं प्रमुख नेताहरूविरुद्ध मुद्दा दायर गरेको छ । हमासका छ जना नेतालाई अमेरिकी नागरिकको हत्या, अतिवादलाई आर्थिक सहयोग गर्ने षड्यन्त्र गरेको र जनसंहारका हतियारको प्रयोगलगायत सातवटा आरोपमा अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले बताएको छ ।

आपराधिक उजुरीले हमासले दशकौंसम्म गरेको कथित हमलाका साथै एक वर्ष अघि दक्षिणी इजरायलमा भएको व्यापक आक्रमणहरूलाई समेटेको छ । अक्टोबर ७ को हमलाका लागि जिम्मेवार प्रमुख व्यक्तिहरूलाई जिम्मेवार ठहराउने यो अमेरिकी कानुन एजेन्सीहरूको पहिलो प्रयास हो । तर, अभियोगमा उल्लेख गरिएका तीन नाममा विगत केही महिनामा भएका हमलामा मारिएका  इस्माइल हनिया, मारवान इसा र मोहम्मद जैफ पनि छन् ।

सिनवार गाजाको कुनै सुरुङमा लुकेर बसेको अनुमान गरिएको छ । अभियोगमा उल्लेख भएका अन्य नेताहरूमा खालेद मशाल र अला बाराका छन् । यी दुई गाजा र वेस्ट बैंक बाहिरका गतिविधिका लागि जिम्मेवार छन् । यी आरोपहरू यस वर्ष फेब्रुअरीमा लगाइएको थियो ।  तर अमेरिकाले मंगलबार अघिसम्म उनी समातिने आशामा मुद्दा चलाएको थिएन । यसैबीच अमेरिकाले गाजामा युद्धविरामका लागि प्रयासलाई तीव्र पार्दै दुवै पक्षलाई सम्झौताको प्रस्ताव स्वीकार गर्न अपिल गरेको छ ।