बाढीको विनाश रोक्न नसकेको भन्दै उत्तर कोरियामा ३० जनालाई एकैसाथ मृत्युदण्ड दिइयो

बुधबार भदौ १९, २०८१/ Wednesday 09-04-24
Paschim Today

उत्तर कोरियामा हालै ३० जना अधिकारीलाई एकैसाथ मृत्युदण्ड दिइएको विभिन्न सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । 

बाढीले गरेको विनाश रोक्न नसकेको भन्दै उनीहरूलाई मृत्युदण्ड दिइएको समाचारमा उल्लेख छ । 

ती अधिकारीहरूमाथि भ्रष्टाचारको आरोप पनि लागेको बताइएको छ । 

बाढीका कारण भएको विनाश देखेर रिसाएका किम जोन उनले ३० जना अधिकारीलाई एकै ठाउँमा झुन्ड्याएको द सनको समाचारमा उल्लेख छ । 

 

समाचार अनुसार किमले बाढी प्रभावित क्षेत्रको भ्रमण पनि गरेका थिए । बाढीमा परेर ४ हजार मानिसको ज्यान गएपछि उनी दुःखी बनेका थिए । 

बाढीमा लापरबाही गरेको आरोपमा उनले तत्कालै ३० जना अधिकारीलाई फाँसी दिएको समाचारमा उल्लेख छ । 

न्युयोर्क पोस्टको रिपोर्टका अनुसार उत्तर कोरियाको केन्द्रीय समाचार एजेन्सीले यसअघि जुलाईमा चागाङ प्रान्तमा आएको विनाशकारी बाढीपछि किमले अधिकारीहरूलाई कडा सजाय दिने आदेश दिएको बताएको थियो ।

यो बाढीमा झण्डै ४ हजार मानिसले ज्यान गुमाएका थिए भने १५ हजारभन्दा बढी घरबारविहीन भएका थिए । उत्तर कोरियामा फाँसी दिइएका अधिकारीहरूको पहिचान खुलाइएको छैन ।