जटिल स्वास्थ्य समस्यासँग जुझ्दै मन्त्रालय हाँक्दै लक्ष्मणकिशोर, मृर्गौला ट्रान्सप्लान्ट गर्ने तयारी

शनिबार भदौ २२, २०८१/ Saturday 09-07-24
Paschim Today

धनगढी । सुदूरपश्चिम प्रदेशमा यतिबेला बजेट निर्माणको चटारो छ । भदौ २५ गतेभित्र चालू आवको बजेट ल्याउने तयारीमा प्रदेश सरकार जुटेको छ । अन्य मन्त्रालय जस्तै प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भदौ १९ गते पहिले वार्षिक कार्यक्रम प्रविष्टीको काम सकाएको छ ।

मन्त्री लक्ष्मणकिशोर चौधरी नेतृत्वको सो मन्त्रालयले प्रदेश सरकारले तोकेको डेटलाइनभित्र बजेटको कार्य सकेको हो । यसैबिच मन्त्री चौधरी आफ्नो स्वास्थ्य समस्यालाई पन्छाउँदै कार्य सम्पादनमा समर्पित छन् ।

दुबै मृर्गौला काम गर्न छोडेपछि उनीमाथि एकातिर जटिल स्वास्थ्य समस्या छ  अर्कोतिर जनताले दिएको जिम्मेवारी अगाडि छ । 

मन्त्री चौधरीले  भने, ‘मेरो नियमित डायलसिस नै हुन्छ, हप्ताको तीन पटक । यो बजेट निर्माण गर्नुभन्दा पहिले मृर्गौला ट्रान्सपलान्टको तयारीमा थिएँ । पछि मन्त्रालयको जिम्मेवारीसँगै बजेट निर्माणका कार्य प्रारम्भ भएपछि यसैमा लागेको छु । अब सरकारको नयाँ बजेट आइसकेपछि ट्रान्सपलान्ट गर्न जाने तयारीमा छु ।’

उसो त उनको यो समस्या अहिलेको भने होइन । अभिनयसँगै राजनीतिमा होमिएका उनी २०६४–०६५ ताका थारु भाषाको ‘भुइचाल’ निर्माणको क्रममा मृर्गौलामा समस्या देखिएको स्मरण गर्छन् ।

पछिल्लो पटक भने उनीमा यहि गएको जेठ २० गते मृर्गौलामा जटिल समस्या देखियो । उनी भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराउँदै आएका छन् भने यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालका साथै नवजीवन अस्पतालमा डायलसिस गराउँदै आएका छन् ।

उनको २ पटक मृर्गौलाको अप्रेसन भइसकेको छ । पहिलो पटक २०६५ मा अप्रेसन हुँदा उनलाई आफ्नै आमा सुरतकुमारी थरुनीले आफ्नो एउटा मृर्गौला दिएकी थिइन् । ०७२ मा अप्रेसन हुँदा उनकी कान्छी बहिनी असर्फी चौधरीले आफ्नो मिर्गौला दिइ जीवनदान दिएका थिए । पछिल्लो समय पनि मृर्गौलाले काम गर्न छोडेपछि उनी पुनः मृर्गौला ट्रन्सप्लान्टको तयारीमा जुटेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं. १ (२) बाट नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित चौधरीको यो मन्त्रीको दोस्रो कार्यकाल हो । यसअघि उनी सामाजिक विकास मन्त्री भइसकेका छन् ।