एक वर्षपछि पक्राउ परे महिला हत्याका दुई आरोपी

आइतबार असोज ६, २०८१/ Sunday 09-22-24
Paschim Today

६ असोज, धनगढी । धनगढीमा एक वर्षअघि महिला मृत फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

६ मंसिर २०८० मा धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा डडेल्धुराको अमरगढी गाउँपालिका–२ की ३१ वर्षीया बीमा थापा मगर मृत भेटिएको घटनामा दुई जनालाई पक्राउ गरिएको हो ।

 

 

 

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय सञ्जीव चौधरी र ३० वर्षीय जनक देउवा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरु मध्ये चौधरी सीमावर्ती भारतीय बजार गौरीफन्टाबाट र देउवालाई धनगढीबाटै पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

एसपी विष्टका अनुसार २९ कात्तिक २०८० को राति जनक देउवाको घरमा उनीहरु दुई जनाले लागूऔषध सेवन गरेका थिए । उनीहरुले राति नै मृतक महिलालाई देउवाको घरमा बोलाएका थिए ।

 

 

उनीहरुले यौन सम्बन्ध राख्नुका साथै कुटपिट पनि गरेको पाइएको प्रहरीले जनाएको छ । बिहान उठ्दा महिला बेहोस अवस्थामा भेटिएपछि स्कुटरमा राखेर उनलाई सरस्वती सामुदायिक वनमा फालेका थिए । प्रहरीले गलिसकेको अवस्थामा थापाको शव भेटिएको थियो ।

मोबाइलबाट खुल्यो रहस्य

शव भेटेपछि प्रहरीलाई सनाखत गर्न गाह्रो भएको थियो । मृतककी साथीले लुगाका आधारमा चिनेपछि प्रहरी परिवारसम्म पुगेको थियो ।

उनको मृत्युको कारण पत्ता लगाउन पनि प्रहरीलाई समय लागेको थियो । प्रहरीले उनले प्रयोग गर्ने मोबाइल नम्बर पत्ता लगाएपछि सिमकार्डको आधारमा उक्त सीम प्रयोग भएको मोबाइलको आइएमइआई नम्बर पत्ता लगाएको थियो ।

उक्त मोवाइलमा सञ्जीव चौधरीले प्रयोग गरेको फेला पारेको थियो । चौधरीकी पत्नीबाट उक्त मोवाइल बरामद भएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

सञ्जीव भारतमा बस्दै आएको पाएपछि प्रहरीले उनकी श्रीमतीमाथि निगरानी बढाएको थियो ।

शनिबार चौधरीकी श्रीमती पनि भारत गइरहेको सूचनाका आधारमा कैलाली प्रहरीको सादा पोशाकको टोलीले उनलाई पछ्याएको थियो ।

सोही क्रममा सीमावर्ती भारतीय बजारबाट चौधरीलाई पक्राउ गर्न सफल भएको एसपी विष्टले बताए ।

चौधरीले दिएको बयानका आधारमा देउवालाई समेत धनगढीबाट पक्राउ गरिएको हो । उनीहरुमाथि ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।