टीकापुरमा रगत अभाव, रक्तदान गर्ने नै भेटिंदैनन्
धनगढी । टीकापुरमा पछिल्लो एक साता यता रगतको चरम अभाव भएको छ। टीकापुरस्थित नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रलाई बिरामीका लागि रगत उपलब्ध गराउन निकै समस्या भैरहेको छ।
रक्तदान गर्नेको भन्दा रगत आवश्यकता पर्नेको संख्या धेरै भएपछि रक्तसञ्चार केन्द्रमा रगतको चरम अभाव भैरहेको अहेव पर्वराज जैशीले बताए। उनका अनुसार हिजो (बुधवार) मात्रै रक्तसञ्चार केन्द्रले २४ पिन्ट रगत उपलब्ध गराएको थियो। उनले केही दिन यता यही अनुपातमा रगतको माग भैरहेको जानकारी दिए।
टीकापुर अस्पतालमा सेवा विस्तारले पनि रगतको माग बढेको बताइएको छ। पछिल्लो समय अस्पतालमा डायलासिस, सिकलसेल एनिमिया लगायतका स्वास्थ्यसेवा विस्तार भएका छन् । रक्तसञ्चार केन्द्रका अहेव जैशीका अनुसार डायलासिस सेवाका लागि मात्रै दैनिक ४ पिन्ट रगत आवश्यक पर्छ।
त्यस्तै अस्पतालमा सिकलसेल एनिमियाको उपचार समेत सुरु भएको छ। सिकलसेल एनिमियाका बिरामीहरु समेत उपचारका लागि आउन थालेका छन्। यसअघि उनीहरु धनगढीस्थित सेती अस्पताल र नेपालगञ्जस्थित भेरी अस्पतालजाने गरेका थिए। सिकलसेल एनिमियाका बिरामीलाई उपचारका लागि रगत नभई हुँदैन।
अस्पतालमा अप्रेसन लगायतका नियमित स्वास्थ्य सेवामा समेत रगतको माग उत्तिकै हुने गरेको छ। ‘पहिले पनि माग बढी नै थियो। अहिले झन् स्वास्थ्य सेवा विस्तारले थप माग बढ्यो’ अहेव जैशीले भने–‘रक्तदान गर्नेको संख्या भने सीमित छ।’
रगतको माग बढेपछि बिरामीलाई रगत पाउन निकै मुस्किल हुन थालेको छ। कतिपय बिरामीले भनेको समयमा रगत पाउन नसक्दा उपचारमा समेत समस्या भोग्नुपरेको छ।
जानकी गाउँपालिका जगतपुरकी ७ वर्षीया एक बालिकाले तीन दिनसम्म रगत पाउन सकिनन्। उनी सिकलसिल एनिमियाको उपचारका लागि अस्पताल पुगेकी हुन्। उनलाई चिकित्सकले एक पिन्टओ पोजेटिभ रगत आवश्यक पर्ने बताएका थिए।
छोरीलाई एक पिन्ट रगतको व्यवस्था गर्न उनकी आमा तीन दिनदेखि रक्त सञ्चार केन्द्रमा धाइरहेकी छन्।
घोडाघोडी नगरपालिका सुखडका लालबहादुर विष्टकी बज्यैलाई चिकित्सकले चार पिन्टबि पोजेटिभ रगत आवश्यक पर्ने बताए। विष्ट रगतको व्यवस्था गर्न रक्तसञ्चार केन्द्र पुगे। उनले दिनभरको प्रयासपछि दुई पिन्ट मात्रै व्यवस्था गर्न सके।
‘रक्तसञ्चार केन्द्रको रेकर्ड हेरे। कतिपयको समय नै पुगेको छैन। कतिपय बाहिर जानुभएको रहेछ’ उनले भने–‘थप दुई पिन्ट रगत जुटाउन निकै समस्या भयो।’
उता चिकित्सकले रगतको छिटो व्यवस्था गर्न ताकेता गरिरहे। चिकित्सकले ताकेता गरेपछि आत्तिएका विष्ट राति नै रक्तसञ्चार केन्द्र पुगे। उनले अहेव जैशीसँग हारगुहार गरे। अहेव जैशीले आफ्ना साथीहरुलाई कल गरे र राति नै रगतको व्यवस्था गरिदिए। ‘धन्न साथी भेटियो र व्यवस्था भयो’ उनले भने–‘रगत दिने मान्छे नै भेटिदैन।’
रक्त सञ्चार केन्द्रले विभिन्न संघसंस्था र व्यक्तिहरुलाई रक्तदानका लागि आह्वान गरेको छ। टीकापुरमा रक्तदान गर्ने संघसंस्था र व्यक्तिको संख्या समेत सीमित छ। युवाहरुमा रक्तदान गर्नुपर्छ भन्ने सोचको विकास गराउन नसक्दा समेत बेलाबेलामा रगतको चरम अभाव हुने गरेको पाइन्छ।
तपाईको प्रतिक्रिया