अनलाइनबाट साढे २ लाखको आईफोन मगाएर घरसम्म ल्याइदिने डेलिभरी ब्वाईको हत्या

मंगलबार असोज १५, २०८१/ Tuesday 10-01-24
Paschim Today

काठमाडौं । भारतमा आईफोन पुर्‍याउन गएका डेलिभरी ब्वाई मारिएका छन् । लखनउस्थित चिन्नत भन्ने ठाउँमा भएको यो घटनामा आईफोन अर्डर गर्ने गजानन नामका व्यक्तिले डेलिभरी ब्वाई ३० वर्षीय भरत साहुको हत्या गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

फ्लिपकार्टमार्फत गजाननले डेढ लाख भारु (दुई लाख ४० हजार नेपाली रुपैयाँ) को आईफोन अर्डर गरेका थिए । उक्त आईफोन लिएर भरत २३ सेप्टेम्बरमा गजाननले बोलाएको ठाउँ पुगेका थिए । 

 

तर, दुई दिन बितिसक्दा पनि भरत घरपरिवार र कार्यालयसँग सम्पर्कमा आएनन् । त्यसपछि परिवारले २५ सेप्टेम्बरमा भरत हराएको भन्दै स्थानीय चिन्नत प्रहरी स्टेसनमा उजुरी दियो । उजुरीपश्चात प्रहरीले अनुसन्धान गर्दा भरतको हत्या भएको खुल्यो । 

चिन्नत प्रहरीका डीसीपी शशांक सिंहले दिएको जानकारी अनुसार गजाननले फ्लिपकार्टबाट डेढ लाख भारु पर्ने आईफोन अर्डर गरेका थिए । उनले आईफोन हातमा परेपछि रकम दिने (क्याश अन डेलिभरी) विकल्प छानेका थिए । 

डेलिभरी ब्वाई आफूले बोलाएको ठाउँमा आएपछि गजानन र उनका साथी मिलेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

भरतको कल डिटेल र लोकेसन ट्रेस गर्दै जाँदा प्रहरी गजाननसम्म पुगेको थियो । हिरासतमा रहेका गजाननले हत्या गरी कुलोमा शव फालेको स्वीकार गरेका छन् ।

हालसम्म शव फेला नपरिसकेको प्रहरीले जनाएको छ ।