ममता काफ्ले प्रकरण : नरेशविरुद्ध प्रहरीले नयाँ प्रमाण के भेटायाे ?

शनिबार असोज १९, २०८१/ Saturday 10-05-24
Paschim Today

 ममता काफ्ले भट्ट अमेरिकामा गायब भएको मुद्दामा अझै धेरै प्रश्नहरू अनुत्तरित छन्।

पेसाले नर्स रहेकी २८ वर्षीया ममता हराएको भन्दै उनका पति नरेश भट्टले गत अगस्ट ५ मा प्रहरीमा उजुरी दर्ता गराएका थिए। तर, उनीबाहेक अन्यले ममतालाई अन्तिम पटक जुलाई २८ मा देखेका थिए।प्रहरीले नरेशलाई गत अगस्ट २२ मा पक्राउ गरेको थियो। उनी अझै पनि प्रहरी हिरासतमा छन्। न्यायाधीशले नरेश समुदायका लागि ‘खतरा’ रहेको ‘आवश्यक प्रमाण’ भएको भन्दै उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेका थिए।उनीमाथि ममताको हत्या गरी शव लुकाएको आरोप लगाइएको छ। यस विषयमा डिसेम्बर ९ देखि सुनुवाइ सुरु हुँदैछ।

त्यसअघि आगामी बिहीबार उनी पुनः अदालतमा उपस्थित हुनेछन्। उनका वकिलले पक्राउ पुर्जी खारेज माग गर्दै रिट निवेदन दर्ता गराएका छन्। यही विषयमा अदालतले आफ्नो फैसला सुनाउनेछ।

शुक्रबार, मानसास पार्क प्रहरी प्रमुख मारियो लुगोले सञ्चारमाध्यमसँग कुराकानी गर्दै नरेश भट्टविरुद्धको मुद्दा प्रमाणमा आधारित भएको स्पष्ट पारे। ‘हामीसँग यो विषयमा थप प्रमाणहरू छन्। यतिबेला नरेशका वकिलले हामीलाई शव घरबाट कसरी निकालियो भन्ने विषयमा घेरिरहेका छन्। तर, यो हामीसँग भएका प्रमाणहरूको एक अंश मात्र हो। यो मुद्दामा यस्ता थुप्रै प्रमाणहरू छन्,’ उनले भने ।

यसबारे अनुसन्धान सुरु भएयता एक दर्जनभन्दा बढी सर्च वारेन्ट जारी भएर १० वटा भन्दा बढी स्थानमा ममता हराएको विषयमा खोजी गरिएको पनि उनले जानकारी दिए। ‘हामीले कुकुरको प्रयोग गरेर पनि खोजी गरेका छन्, उनले भने, ‘हामीले करिब ३० वटा सर्च वारेन्टका लागि निवेदन दिएका छौँ।’

उनले यी सर्च वारेन्टहरू दम्पतीको घर, कारको तथ्याङ्क, बैंकबाट आर्थिक अवस्था, फोनको रेकर्ड, जीपीएस लगायत विषयमा भएको बताए। यसमध्ये नरेशको एउटा भिडिओ प्रमाण निकै महत्त्वपूर्ण रहेको उनको भनाई छ। ‘नरेश केही स्थानमा भएको भिडिओ हाम्रोलागि निकै सहयोगी बन्यो,’ उनले भने, ‘हामीलाई यस विषयमा थप जानकारी प्राप्त भइरहेको छ। हामीले यही विषयमा केन्द्रित भइरहेका छौँ। हामीले थुप्रै जनासँगै सोधपुछ पनि गरेका छौँ। केहीलाई त फेरि बोलाएर पनि सोधपुछ गरिएको छ।’

उनले विभिन्न स्थानमा खोजी गरे पनि पानीमा भने खोजी हालसम्म नगरिएको बताए। ‘हामीलाई प्राप्त सूचना र नरेशले बयानमा भनेका केही कुराले ममताको शव पानीमा हुनसक्ने पनि आशंका गरिएको छ,’ प्रहरी प्रमुख मारियो लुगोले भने। प्रहरीलाई प्राप्त भएको सूचना र नरेशको जीपीएस लोकेसनलाई त्यसलाई मिलान गर्ने प्रयास पनि गरिएको लुगोको भनाई छ। उनले आगामी दिनमा थप खोजी कार्य गर्ने तयारी भइरहेको जानकारी पनि दिए।

‘केही मानिसहरूले सामाजिक सञ्जालमा ममता अझै जीवित नै रहेको दाबी पनि गरिरहेका छन्,’ लुगोले भने, ‘तर, मलाई लाग्दैन उनी जीवित छन्। त्यसलाई प्रमाणित गर्ने कुनै आधार छैन। यो केसलाई निष्कर्ष पुर्‍याउन हामी प्रयासरत छौँ। हामी ममतालाई न्याय दिन चाहन्छौँ।’