प्रेमको नशामा आफ्ना गोप्य फोटो/भिडिओ पठाउँदा यतिसम्म हुन सक्छ खतरा !

आइतबार असोज २०, २०८१/ Sunday 10-06-24
Paschim Today

हालै मैले मेरो कलेजकी एक जुनियर युवतीको अश्लील भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको देखें । भिडिओको शीर्षक थियो ‘एक्सवाईजेड कलेज काण्ड’ ।

खासमा यो भिडिओ मलाई मेरो नजिकको साथीले टेलिग्राममा पठाएको थियो । “ओई, हेर् न ! हाम्रै कलेजकी केटीको काण्ड आएछ,” भिडिओ पठाउँदै साथीले भन्यो ।

आफूभन्दा एक ब्याज जुनियर युवतीको त्यस्तो अन्तरङ्ग भिडिओ देख्दा म चकित परें । यसअघि अपरिचित नेपाली युवतीहरूको भिडिओ देख्दा सोझै बेवास्ता गर्थेँ । तर, कलेजमा भेट्दा ‘दाइ के छ ?’ भन्दै आत्मीयता दर्शाउने युवतीको भिडिओ देख्दा आफैंलाई नरमाइलो लाग्यो ।

बुझ्दै जाँदा युवती आफैंले आफ्नो अन्तरङ्ग भिडिओ बनाएर प्रेमीलाई पठाएकी रहिछन् । त्यसपछि त्यो भिडिओ युवतीको प्रेमीबाट उनका साथीहरूले पाएछन् । र, एउटा ग्रुप च्याट खोलेर त्यसैमा भिडिओ पठाइएको रहेछ ।

अश्लील साइटमा यस्ता कैयौं भिडिओ छन् । मैले नै चिनेको अर्की एक युवतीको भिडिओ पनि ‘…एकेडेमीको हलमा से*क्स कान्ड’ भन्दै अश्लील साइटमा छ्यापछ्याप्ती छ । त्यो भिडिओ त प्रेमीले युवतीको अनुमति बिनै गोप्य रूपमा खिचेका रहेछन् । ती युवतीको नजिकको साथीले भने अनुसार उक्त भिडिओ भारइल भएपछि उनी मानसिक रूपमा विक्षिप्त भएकी छिन् ।

यी दुई प्रतिनिधि घटना मात्र हुन् । युवतीको सन्दर्भमा यदि कसैसँग शारीरिक सम्बन्ध राख्नु छ भने गोप्य रूपमा गोप्य ठाउँमा राख्नुहोस् । याद गर्नुहोस् यस्तो बेला जेसुकै भने पनि भिडिओ बनाउन नदिनुहोस् ।

तपाईंले जति विश्वास वा प्रेम गर्ने मान्छे भए पनि कसैलाई आफ्नो गोप्य भिडिओ नपठाउनुहोस् । आजको दिनमा सबै मान्छेलाई विश्वास गर्न सकिंदैन । ‘म तिमीलाई माया गर्छु’, ‘मेरो विश्वास छैन ?’, ‘हेरेर डिलिट गर्दिन्छु के’, ‘तिमीलाई मेरो कसम’ जस्ता जे भने पनि गोप्य फोटो पठाउने जोखिम नलिनुहोस् ।

पुरुषहरूको सन्दर्भमा उनीहरू यस्ता फोटो वा भिडिओ आफ्ना नजिकका साथीभाइलाई देखाइदिन्छन् । केहीगरी ती सामग्री उनीहरूसम्म पुग्यो भने कुन सामाजिक सञ्जालमा कसले राख्छ भन्न सकिन्न । केटाहरूको सन्दर्भमा पछिल्लो समय युवतीबाट अन्तरङ्ग फोटो वा भिडिओ माग्नु र पाउनु सफलता जस्तो मानिने गरिएको छ । त्यस्ता फोटो र भिडिओ पाए के के न सफलता हासिल गरेको जस्तो उनीहरू ती अरूलाई देखाइदिन्छन् । र, उत्सव मनाउँछन् ।

क्षणिक रमाइलो वा आवेगमा आएर भिडिओ वा फोटो पठाइदिँदा यसले युवतीहरूको जीवनमा गम्भीर असर पार्छ । उनीहरूको परिवारको प्रतिष्ठा र आत्मसम्मानमा चोट पर्छ । केहीगरी भिडिओ बाहिर आए बाँच्नै सकस पर्छ ।

अन्तरङ्ग भिडिओ सार्वजनिक गरिदिएको आरोपमा पछिल्लो समय धेरै व्यक्तिहरू पक्राउ पर्न थालेका पनि छन् । अधिकांश अभियोगपत्र हेर्ने हो भने पहिले प्रेमसम्बन्धमा हुँदा युवतीले फोटो र भिडिओ पठाएको देखिन्छ । त्यसपछि सम्बन्ध बिग्रिन्छ । र, युवकले नक्कली अकाउन्ट बनाएर भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिदिन्छन् ।

आफ्नो अन्तरङ्ग फोटो वा भिडिओ सार्वजनिक भएको छ भने त्यसको विषयमा उजुरी दिने साहस जुटाउनै युवतीलाई सकस पर्छ । न यस्तो कुरा आफन्त, साथीभाइ र नजिकका मान्छेलाई नै भन्न सकिन्छ । त्यसैले प्रेमीले जतिसुकै जोड गरे पनि आफ्नो अश्लील फोटो वा भिडिओ पठाउने जोखिम नलिनू । आज तपाईंको प्रेमी भएको युवक भोलि तपाईंको पीडक नबन्ला भन्न सकिंदैन ।

सप्तरीको एक घटना

यो २०८० माघ तिरको कुरा हो । ३१ वर्षीया रश्मिला (नाम परिवर्तन) घरमा तीन छोराछोरीसित बस्थिन् । उनका १४ र १२ वर्षका दुई छोरा थिए भने छोरी १० वर्षकी थिइन् । श्रीमान दुई वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए ।

घरमा केही सहयोग आवश्यक परे रविन (नाम परिवर्तन) रश्मिलालाई सघाउँथे । कक्षा १२ मा पढ्ने उनी रश्मिलाको भतिजोका साथी पनि हुन् । सुरु सुरुमा सहयोगका लागि मात्र रविन रश्मिलाको घरमा पुग्थे । पछि घरमा आउजाउ गर्ने क्रम बढ्दै गयो । उनीहरूबीच फोनमा पनि सम्पर्क हुन्थ्यो । त्यही क्रममा १९ वर्षीय रविन र रश्मिलाबीच प्रेम सम्बन्ध स्थापित भयो ।

यसपछि रविनको बसाइँ नै रश्मिलाको घरमा हुन्थ्यो । त्यही क्रममा उनीहरूबीच पटक पटक शारीरिक सम्बन्ध पनि हुन्थ्यो । एक पटक रविनले रश्मिालाको अनुमति लिएर शारीरिक सम्बन्ध राख्ने क्रममा भिडिओ खिचेका रहेछन् । त्यो भिडिओ उनले कक्षामा आफ्ना साथीहरूलाई देखाइहरेका थिए । त्यही बेला सिजन (नाम परिवर्त) अर्थात् रश्मिलाका भतिजोले भिडिओ देखे । उक्त भिडिओ सिजनले आफूलाई पठाइदिन भने । उक्त भिडिओ अरू कसैलाई नपठाउने भन्दै रविनले सिजनलाई सो भिडिओ मेसेन्जरमा पठाइदिए ।

सिजनले उक्त भिडिओ आफ्ना सबै आफन्त र विदेश भएका काकालाई पनि पठाइदिए । पछि गाउँमा एक जनाबाट अर्कोले, अर्कोबाट अर्कोले गर्दा त्यो भिडिओ सबैतिर छायो । भिडिओ बाहिरिएपछि रश्मिलालाई मानसिक तनाव हुन थाल्यो । छरछिमेकमा उनलाई हेर्ने नजर नै फरक थियो । यी सबै सहन नसकी उनले वैशाख २०८१ मा आत्महत्या गरिन् ।

त्यसपछि रविन र सिजन आत्महत्या दुरुत्साहन तथा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ परे । अहिले यो घटना अदालतमा विचाराधीन अवस्थामा छ ।

केटाहरूलाई सन्देश !

खासमा युवतीहरूबाट उनीहरूको व्यक्तिगत फोटो वा भिडिओ माग्नु नै गल्ती हो । यदि केहीगरी युवतीले तपाईंलाई विश्वास गरेर फोटो वा भिडिओ पठाएका छन् भने त्यो अरूलाई शेयर गरेर विश्वासघात नगर्नुहोस् ।

यदि तपाईंहरूको सम्बन्ध बिग्रिएको छ भने एक-अर्काको विचारलाई समर्थन गरेर ‘साइड’ लाग्नुहोस् । तर, अन्तरङ्ग फोटो/भिडिओ आफन्त वा साथीभाइलाई पठाएर बदनाम गर्ने काम नगर्नुहोस् ।

तपाईंको सानो गल्तीले शेयर भएको फोटो वा भिडिओले युवतीको जीवन नै समाप्त पारिदिन सक्छ । उनीहरू डिप्रेसनको शिकार बन्न सक्छन् वा आत्महत्या गर्ने सोचसम्म पुग्न सक्छन् ।

फोटो कसैलाई पठाउनुअघि पीडितको परिवारलाई पर्ने असरबारे सोच्नुहोस् । यो कुनै मजाक होइन, ‘एटेन्सन’ पाउनका लागि गर्नुपर्ने कुरा होइन । यसलाई निर्ममतापूर्वक लिनुहोस् ।

युवतीहरूको सन्दर्भमा यदि तपाईंले कसैलाई फोटो वा भिडिओ पठाउने गल्ती गर्नुभएको छ र त्यसैको आडमा कसैले ब्ल्याकमेल गरिरहेको छ भने सोझै उजुरी दिनुहोस् । तपाईंलाई स्थानीय प्रहरी वा साइबर ब्युरोले सहायता दिन्छ । तपाईंको परिचय गोप्य हुन्छ । कसैले ब्ल्याकमेल गर्‍यो भन्दैमा गलत निर्णय नलिनुहोस् । भरसक आफ्ना नजिकका व्यक्तिलाई त्यस घटनाबारे जानकारी दिनुहोस् ।