बिजुली आउने जाने टुङ्गो छैन

आइतबार असोज २०, २०८१/ Sunday 10-06-24
Paschim Today

डडेलधुरा असोज २० गते । सात वटा पालिका रहेको डडेलधुरा जिल्लाका १६ हजार पाँच सय घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । दुर्गमका केही बस्तीबाहेक डडेलधुराका सबै बस्तीमा समेत गरेर ९४ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुगेको नेपाल प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ तर बेला बेलामा विद्युत् लाइन काटिने समस्याले यहाँका उपभोक्ता हैरान मात्रै छैनन्, सानोतिनो व्यापार, व्यवसाय गर्नेले ठुलो नोक्सानी बेहोर्दै आइरहेका छन् । 

दैनिक जसो पटक पटक लाइन काटिने समस्याले विद्युतीय माध्यमबाट काम गर्दै आएका व्यवसायको कारोबारसमेत प्रभावित हुने गरेको छ । होटेल सञ्चालकदेखि आमसञ्चारका माध्यम, इलेक्ट्रिक पसल, ग्रिल, वेल्डिङलगायत साना व्यवसायी बढी मर्कामा परेका छन् । ठुला व्यापारी, व्यवसायीले विकल्पका रूपमा ब्याट्री जडान गरिरहेका भए पनि साना व्यापारीले त्यस किसिमका लगानी गर्न नसक्दा घाटा बेहोर्नु परिरहेका सदरमुकाम तुफानडाँडा बजारमा रहेको अमरगढी मोबाइल मर्मत सेन्टरका सञ्चालक राजेन्द्र ताम्राकारले बताए । 

डडेलधुरा जिल्ला सदरमुकाममा सात वर्षअघिदेखि पसल सञ्चालन गरिरहेको उनले भने, लोडसेडिङमुक्त घोषणा गरिएपछि दैनिक २० औँ पटक बत्ती काटिएको देखेको थिइनँ तर अचेल त बेला बेला बत्ती काटिने समस्याले हैरान बनाइसक्यो । मोबाइल मर्मत गर्न नमिल्दा ग्राहक फर्किन्छन् । पैसा कमाउन सकिएको छैन । 

कोरोना सङ्क्रमणपछि धराशायी हुँदै गएको होटेल व्यवसाय विद्युत् काटिने समस्याले झनै धराशायी भएको होटेल व्यवसायी डडेलधुराका अध्यक्ष एवं होटेल सनलाइटका सञ्चालक दान भण्डारीको गुनासो छ । होटेलमा बिजुली नहुँदा केही काम गर्न सकिँदैन । पानी चलाउने, भान्सा, एसी, पङ्खा, इन्टरनेट सबैका लागि बिजुली चाहिन्छ तर बिजुली छिन छिनमै जाने भएर समस्या पर्ने गरेको छ । 

गत साउन महिनामा बिजुली हाइभोल्टेज प्रवाह हुँदा अमरगढी नगरपालिका–८, कीर्तिपुरमा रहेको जिल्ला कारागारलगायत यस क्षेत्रका घरमा जडान भएका विद्युतीय सामग्रीमा क्षति भएको थियो । कीर्तिपुर क्षेत्रका ग्राहकको व्यापक गुनासोपछि नयाँ लाइन जडान गर्दा प्राविधिक त्रुटिले पावर भोल्टेज हाई भएको स्वीकार गर्दै विद्युत् प्राधिकरणले क्षतिपूर्ति दिने भन्दै निवेदन माग ग¥यो तर हालसम्म त्यस विषयमा कुनै सुनुवाइ नभएको कारागार कार्यालयका प्रमुख सन्तोष भट्टले बताए ।

उनका अनुसार हाइभोल्टेज आउँदा १५ वटा सिसी क्यामरा, ५० भन्दा बढी बल्ब, राउटरलगायत स्विच अफ गरेर बोर्डमा जोडिएका सबै विद्युतीय उपकरण जलेर नष्ट भएका थिए । कीर्तिपुरका स्थानीयका पसल तथा घरमा एलइडी, सिसी क्यामरा, ल्यापटपलगायतका उपकरण बिग्रँदा लाखौँको क्षति भएको थियो तर प्राधिकरणले क्षति भर्ने भनेर निवेदन माग गरे पनि हालसम्म कुनै सुनुवाइ नभएको उनले बताए । डडेलधुरामा कैलालीको अत्तरिया ग्रेडबाट ३३ सय केभीको लाइन जोडिएको छ । १०९ किलोमिटर दुरी रहेको यो लाइनमा पहिरो खस्दा, रुख ढल्दा र कहिलेकाहीँ पोल ढल्दा विद्युत् लाइन अवरुद्ध हुने गरेको प्राधिकरण प्रमुख रमेश अवस्थीले जानकारी दिए । 

यहाँबाट बैतडीमा समेत ११ हजार भोल्टको लाइन जोडिएकाले समस्या हुने गरेको उहाँको भनाइ छ । टाढा टाढासम्म तानिएको लाइनमा कुनै एक ठाउँमा रुखको हाँगो खस्दा मात्रै पनि जिल्ला सदरमुकामको लाइनसमेत बन्द हुने अवस्था रहेको उहाँले बताउनुभयो । नवदुर्गा गाउँपालिकाको दुर्गम बस्ती चमागाउँको कुनै ठाउँमा रुखको हाँगा खस्दा जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाका घरधुरीमा समेत लाइन काटिने समस्या रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लाइन लामो भएर यो समस्या देखिएको हो । हामीले रुखका हाँगा काट्ने काम पनि गरिरहेका छौँ ।”