बिदाका बेला टोल कक्षा सञ्चालन

आइतबार असोज २०, २०८१/ Sunday 10-06-24
Paschim Today

अछाम, असोज २० गते । दसैँतिहार बिदाको बिदा, घरनजिकैको खुला ठाउँ, विद्यार्थी कापीकिताब लिएर जम्मा हुन्छन् । कोही गृहकार्यमा जुट्छन् भने कोही अलमल परेको विषयमा शिक्षकलाई सोध्छन् । कोही गणितका हिसाबमा शिक्षकसँग सोध्ने गर्छन् । कोही साथीसँगको सल्लाहमा छन् । अछामको साँफेबगर नगरपालिका–१३, बाब्लामा बिहान हरेक टोलमा यस्तै दृश्य देखिन्छन् । 

बाब्लामा दसैँतिहारको बिदामा विद्यालयकै झल्को दिने गरी टोल कक्षा सञ्चालन थालिएका छन् । बाब्लामा रहेका मावि र आधारभूत गरेर छ विद्यालयका विद्यार्थीलाई १२ टोलमा कक्षा सञ्चालन गरिएको छ । कक्षा १० सम्मका विद्यार्थीलाई उनीहरूकै पायक पर्ने गरेर टोलमै बिहान तीन घण्टा कक्षा सञ्चालन गरिएको छ । टोलको साझा ठाउँमा त्यस टोलका विद्यार्थीलाई विभिन्न कक्षाका समूहमा कक्षा लिन थालिएको शिक्षक रमानन्द जोशीले जानकारी दिए । 

टोल कक्षामा स्थानीय १२ कक्षाका विद्यार्थीलाई स्वयंसेवक शिक्षक भनेर परिचालन गरिएको छ । स्वयंसेवक शिक्षकले निःशुल्क रूपमा सम्बन्धित टोलमा बिहान ७ बजेबाट १० बजेसम्म विद्यार्थीलाई सहजीकरण गर्ने जिम्मेवारी छ । कक्षा १२ मा अध्ययनरत २४ जना विद्यार्थीलाई एक दिनको प्रशिक्षण दिएर टोल कक्षा प्रारम्भ गरिएको छ ।  

टोल कक्षा सञ्चालनका लागि राष्ट्रिय मावि बाब्लाका शिक्षकहरू हरेक टोलमा गएर टोल कक्षा सञ्चालन आवश्यकता, अभिभावकको दायित्व र बालबालिकाको अधिकारका बारेमा अभिभावकसँग छलफल गरेको बताइएको छ । वडामा रहेका पाँच वटा आधारभूत विद्यालय र व्यवस्थापन समितिसँगको समन्वयमा सबै सहमत भएपछि टोल कक्षामा एकमत भएपछि कक्षा थालनी गरिएको राष्ट्रिय माविका प्रधानाध्यापक तिलक कुँवरको भनाइ छ ।