अन्तर्राष्ट्रिय ड्रोन स्पर्धामा नेपाली विद्यार्थीलाई गोल्ड मेडल, चिनियाँ मिडियामा भए फिचर

सोमबार असोज २१, २०८१/ Monday 10-07-24
Paschim Today

काठमाडौं । चीनको राष्ट्रिय टेलिभिजन सीसीटिभी न्युजले हालै एक नेपाली आईटी विद्यार्थीको भिडिओ फिचर प्रसारण गरेको छ । सीसीटिभी न्युजले कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीमा स्नातक तहमा अध्ययनरत अनुज चौधरीमाथि भिडिओ बनाएको हो ।

उमेरले २२ लाग्दै गरेका दाङ, लमहीका चौधरी ड्रोन प्रति अगाध लगाब राख्छन् । त्यही लगाबले उनलाई चीन पुर्‍यायो । रोबोटिक्स एसोसियसन अफ नेपाल (र्‍यान)लाई प्रतिनिधित्व गर्दै गत जुन (२४-२६)मा सम्पन्न दोस्रो संस्करणको 'द बेल्ट एन्ड रोड इन्टरनेसनल स्किल्स कम्पिटिसन'मा सहभागी हुन चौधरी चीन पुगेका थिए ।

 

त्यही प्रतियोगिताको यूएभी एसेम्ब्ली एन्ड मेन्टिनेन्स कम्पिटिसनमा अन्य ६० देशका सहभागीलाई पछि पार्दै उनी गोल्ड मेडलिस्ट बन्न सफल भए । प्रतियोगितामा ड्रोन बनाउने, कन्फिगर गर्ने, सिमुलेसनमा टास्क सम्पन्न गर्ने र वास्तविक रूपमा उडाउने काम थियो । तर यो सबै तीन घण्टाको समयसीमाभित्र उपलब्ध गराइएको सीमित स्रोत साधनका आधारमा सम्पन्न गर्नु पर्ने थियो । यसैमा चौधरीले स्वर्ण पदक जितेका हुन् ।

त्यसपछि सीसीटिभी न्युजले उनको ड्रोन यात्रालाई समेट्ने गरी भिडिओ खिचेको हो । यसका लागि सीसीटिभी न्युजका नेपाली संवाददाताले नेपालमा आफूलाई खिचेको चौधरीले टेकपानालाई सुनाए । “खासमा यो भिडिओ गत असार/साउन तिर खिचेको हो,” उनले भने, “तर अहिले मात्रै आएछ ।”

सीसीटिभीको भिडिओमा चौधरी ड्रोनमा त्यस्तो क्षमता राख्ने कसरी भए, केके गरे, कसरी ड्रोनसँग नजिकिए भन्ने विषय हेर्न सकिन्छ । अहिले चौधरी सातौं सेमेस्टरमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ पढिरहेका छन् । यसका साथै र्‍यानमा आबद्ध भएर ड्रोन सम्बन्धी विभिन्न काम पनि गरिरहेका छन् । चौधरीसँगै उक्त प्रतियोगितामा किरण खत्रीले आईओटीमा काश्य पदक हात पारेका थिए ।