सुनचाँदी धितोमा ५० लाखभन्दा बढी कर्जा नपाइने

बुधबार असोज २३, २०८१/ Wednesday 10-09-24
Paschim Today

२३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत अधिविकर्ष (ओभरड्राफ्ट) कर्जामा जस्तै सुनचाँदी धितो कर्जामा पनि ५० लाख रुपैयाँको सीमा तोकेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै सुनचाँदी धितो कर्जामा सीमा तोकेको हो ।

यसअघि ५० लाख भन्दा बढी कर्जा सुनचाँदी धितोमा प्रवाह गरेको भए २०८३ असार मसान्तभित्र एकल ग्राहक कर्जा सीमाभित्र लयाउनुपर्ने भएको छ । ‘सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरिएको छ । यसअघि प्रवाह भएको कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने छ,’ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको परिपत्रमा भनिएको छ ।

यस्तै जलविद्युत आयोजना सम्पन्न भए पनि प्रसारण लाइन नबनेर ग्रस अवधि थप भएको कर्जा पुनर्संरचना/पुनर्तालिकीकरण गरेको नमानिने भएको छ । ‘जलविद्युत आयोजना सम्पन्न भई उत्पादन प्रारम्भ गरे तापनि पूर्ण क्षमताको प्रसारण लाइन निर्माण नभएका कारण पूर्ण क्षमतामा संचालनमा आउन नसकेका कारण ग्रेस अवधि थप भएमा पुनर्संरचना/पुनर्तालिकीकरण गरेको मानिने छैन,’ केन्द्रीय बैंकले जारी गरेको परिपत्रमा भनिएको छ । यसले प्रसारण लाइन समयमा सम्पन्न नहुँदा समस्यामा परेको जलविद्युत कम्पनीलाई केही सहज हुनेछ ।

साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको २ करोडसम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी एक पटकको लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असूल उपर गरी राष्ट्र बैंकले तोकेको शर्तमा पुनरसंरचना तथा पुनर्तालिकीकरण गर्दा १.१ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्दा हुने भएको छ । १.२ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्नेमा संशोधित व्यवस्थाले बैंकहरुको कर्जा नोक्सानी व्यवस्था घटेर नाफामा सहयोग पुग्ने छ ।