रहेनन् प्रख्यात उद्योगपति रतन टाटा

बिहीबार असोज २४, २०८१/ Thursday 10-10-24
Paschim Today

विश्वप्रसिद्ध व्यवसायी रतन टाटाको निधन भएको छ। टाटाको ८६ वर्षको उमेरमा निधन भएको हो। 

मुम्बईको एक अस्पतालमा बुधबार उपचारको क्रममा टाटाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

रतन टाटाको निधनले भारतीय उद्योग क्षेत्रमा ठूलो क्षति पुर्‍याएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य प्रमुख नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्। रतनले टाटा समूहलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने क्रममा टाटा इन्डिका र टाटा नानो जस्ता महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेका थिए।

उनको अन्त्येष्टि राजकीय सम्मानका साथ हुने बताइएको छ। रतन टाटाले भारतमै पहिलो पटक पूर्ण रूपमा कार उत्पादन सुरु गरेका थिए। उनको नेतृत्वमा टाटा समूहले १९९८ मा टाटा इन्डिका नामक कार लन्च गरेर भारतीय अटोमोबाइल क्षेत्रमा नयाँ युगको सुरुवात गरेको थियो।

त्यसपछि २००८ मा विश्वकै सस्तो कार टाटा नानो बजारमा ल्याएर पनि उनी विश्वव्यापी चर्चाको विषय बनेका थिए। साथै ल्यान्ड रोभर, जगुआर जस्ता प्रतिष्ठित गाडी ब्रान्डहरू खरिद गरेर अन्तर्राष्ट्रिय बजारमा टाटा समूहको उपस्थिति थप बलियो बनाएका थिए। 

हालका उनको कम्पनी टाटा मोटर्सले विद्युतीय सवारी साधन (ईभी) उत्पादनमा पनि ठूलो प्रगति गरेको छ। कम्पनीले सन् २०२० मा टाटा नेक्सन ईभी सार्वजनिक गरेको थियो, जसले भारतसहित विभिन्न देशमा लोकप्रियता कमाएको छ। त्यसयता कम्पनीले टाइगर ईभी, टियागो ईभी, पन्च ईभी लगायतका मोडेल ल्याएको छ। 

उनी सादगीपूर्ण जीवनशैलीका लागि पनि चिनिन्थे, जसका कारण उनलाई 'धर्मनिरपेक्ष जीवित सन्त' को रूपमा समेत मानिन्थ्यो।

पाकिस्तानको सिंगो जिडीपी बराबरको सम्पत्तिको मालिक टाटाको जीवनशैली भने अत्यन्तै साधारण थियो। उनमा धन र वैभवको कुनै दम्भ नभएको उनीसँग संगत गर्नेहरु बताउँछन्। 

सन् १९६२ मा रतनले जमशेदपुरस्थित टाटा स्टीलबाट आम मजदुरको हैसियतमा आफ्नो करियर सुरु गरेका थिए। केही समयपछि उनी टाटा स्टीलको मेनेजरहुँदै प्रवन्ध निर्देशकको सहायक बनेका थिए। उनको कामप्रतिको लगाव र कडा मेहनत देखेर जेआरडी टाटाले उनलाई मुम्बइ बोलाएका थिए। जेआरडी टाटाले सुम्पिएका सबै काम रतनले उत्कृष्टताका साथ सम्पन्न गरेपछि सन् १९८१ मा उनी टाटा इण्डस्ट्रिजका प्रमुख बने। जतिबेला उनी कम्पनीका प्रमुख बनेका थिए त्यतिबेला इण्डस्ट्रिजको टर्नओवर ६० लाख मात्रै थियो।  

अध्ययनका क्रममा उनी अमेरिकामा रहँदा उनको अमेरिकी युवतीसँग प्रेमसम्बन्ध रहे पनि त्यसले सार्थकता पाउन नसक्दा उनी जीवनभर अविवाहित भएरै संसारबाट विदा भएका छन्।