डडेल्धुरामा १४ वर्षीया आरतीको ‘घाँटी थिचेर’ हत्या, टोपी र चप्पलबाट समातिए टेकबहादुर

आइतबार असोज २७, २०८१/ Sunday 10-13-24
Paschim Today

कैलाली । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको घाटी थिचेर हत्या गरेको आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन् । घटनाको केही घण्टामै प्रहरीले भण्डारीलाई पक्राउ गरेको थियो । भण्डारीले भट्टराईको हत्या गरेको स्वीकारेपछि आज उनलाई सार्वजनिक गरिएको छ ।

पोखरा बजारमा भण्डारी पुस्तक एन्ड स्टेस्नरी पसल छ । भण्डारीले आफ्नै पसलभित्र कोठामा आवेशमा आएर किशोरीको घाँटी थिचेर हत्या गरेको स्वीकारेको डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए । स्थानीयले किशोरीको बलात्कारपछि हत्या गरिएको दाबी गर्दै आएका छन् । प्रहरीसमक्ष भने भण्डारीले किन हत्या गरेको भन्ने विषयमा ठोस बयान दिएका छैनन् ।

‘आवेशमा आएर किशोरीको घाँटी थिचेर हत्या गरेको भनेका छन् । किन आवेगमा आएको भन्ने विषयमा कुनै जवाफ दिएका छैनन्’ प्रहरी प्रमुख श्रेष्ठले भने, ‘जबरजस्ती करणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेशमा आएर हत्या गरेको पनि हुनसक्छ । तर, पोस्टमार्टम रिपोर्ट आइसकेको छैन, आएपछि खुल्छ ।’
किशोरीले आफू भारत जाने र केही पैसा चाहिएको भन्दै भण्डारीलाई २३ गते पनि भेटेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

२५ गते भण्डारीले भट्टराईको हत्या गरेका हुन् । प्रहरीका अनुसार किशोरी ४ बजे गहुँ पिस्न स्थानीय पोखरा बजारको मिलमा गएकी थिइन् । बजारमा उनले चप्पल पनि किनेको पाइएको छ । भण्डारीसँग किशोरीको एक बर्सअघिबाटै चिनजान रहेको पाइएको जानकारी दिँदै प्रनाउ श्रेष्ठले सुनाए, ‘किशोरी भण्डारीको पसलमा साँझ ५ बजेतिर पुगेको देखिन्छ, कुराकानीकै क्रममा आवेशमा हत्या भएको हुनसक्छ ।’

हत्यापछि भण्डारीले आरतीको शव बोरामा सामान जस्तै प्याक गरी पसलको बाहिर राखेका थिए । संयोगवश त्यति नै बेला एक प्रहरी पनि त्यहाँ पुगेका थिए । हतारमा पसल बन्द गरेर भाग्ने क्रममा उनको मोटरसाइकल पसल अगाडि नै ढलेपछि नजिकै रहेका प्रहरीले उठाएर सहयोग गरेका थिए ।

‘किशोरीको हत्या गरेर शव राखेकै बेला प्रहरी पुगेपछि उनी बेचौ देखिएका थिए’ प्रहरी प्रमुख श्रेष्ठले भने, ‘आफ्नै पसल अगाडि शव राखेका उनी त्यसपछि डडेल्धुरा सदरमुकाम हुँदै पोखराबाट १० किलोमिटर टाढाको स्याउले बजार पुगे । फेरि तीन किमी पछाडि नै फर्केर तुफानडाँडामा केही घण्टा मदिरा पिए ।’

६:३० बजे श्रीमतीलाई फोन गरेर आज आफू घर पुग्न ढिला हुन्छ भन्दै जानकारी दिएका थिए । ९ बजेतिर फर्केर उनले आफ्नो पसल खोले । शव व्यवस्थापनका म १ प १४५४ नम्बरको आफ्नै मोटरसाइकलमा बाँधेर व्यवस्थापन गर्ने तयारीमा रहेका बेला कुकुर भुक्न थालेपछि भण्डारी थप अत्तालिए । शव त्यही फालेर भण्डारी भागेका थिए ।
तर, उनको टोपी र चप्पल भने शव फालेकै ठाउँमा छुट्न पुगेको थियो । शव नजिकै भेटिएको आरोपीको टोपी र चप्पलका कारण प्रहरीले भण्डारीलाई पक्राउ गरेको थियो ।

राति १० :३० बजे नै प्रहरीसमक्ष शव भेटिएको विवरण प्राप्त भएको थियो । प्रहरी प्रमुख पुग्नु भन्दा पहिले एक प्रहरी टोली अनुसन्धान सुरु गरिसकेको थियो । प्रहरी प्रमुख श्रेष्ठको टोलीले शव भेटिएको २ घण्टा भित्रै हत्या आरोपीलाई पक्राउ गरेका थिए ।