कतारी राजालाई नेपालको उपहार– रुद्रकली र खगेन्द्र पठाउने तयारी अन्तिम चरणमा

बुधबार असोज ३०, २०८१/ Wednesday 10-16-24
Paschim Today
फाइल तष्विर

सरकारले कतारलाई उपहारस्वरूप दुईवटा हात्ती दिन अन्तिम तयारी थालेको छ । 

कतारी राजा (अमिर)तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको सिलसिलामा नेपालले हात्ती उपहार दिने निर्णय गरेको थियो ।

 

 

 

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ मा कतार भ्रमणका बेला हात्ती र बाज उपहार दिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

 

 

 

सोही प्रतिबद्धता बमोजिम गत वैशाखमा नेपाल भ्रमणमा आएका थानीसँगै ‘रुद्रकली’ र ‘खगेन्द्र’ नाम गरेका दुई हात्ती पठाउन लागिएको थियो । 

 

कतारी अमिर थानी नेपाल भ्रमणमा रहेका बेला कतारकै तर्फबाट आवश्यक तयारी पूरा हुन नसक्दा हात्ती उपहारस्वरूप पठाउने योजना असफल बनेको थियो ।

कतारले ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि’ (साइटिस)को प्रावधानअनुसार स्वीकृति लिइनसकेका कारण नेपालले तत्कालीन समयमा हात्ती पठाउन सकेन ।

‘रुद्रकली र खगेन्द्र नाम गरेका हात्ती छनोट पनि भएको हो, तर कतारका तर्फबाट लिनुपर्ने अनुमति प्राप्त भइनसकेकाले पठाउन सकिएन,’ वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले लोकान्तरसँग भने, ‘कतारले गत महिना मात्रै साइटिस प्रावधानअनुरूप स्वीकृति लिएको पत्र पठाएकाले अब हात्ती पठाउन बाटो खुलेको छ ।’

खरालका अनुसार वनमन्त्री ऐनबहादुर शाही ठकुरीले कतारको पत्र र मन्त्रालयको तयारीलाई स्वीकृत गरिसकेका छन् ।

खरालले भने, ‘मन्त्रीज्यूबाट स्वीकृत भइसकेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत गर्नुपर्ने भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र पठाइसकेका छौं ।’

उनका अनुसार रुद्रकली र खगेन्द्रको पालन–पोषण र स्याहारसुसार भइरहेको छ । हात्तीसँगै नेपालबाट उनीहरूका सुसारे समेत पठाइने छ ।

उनीहरूले कतारका कर्मचारीलाई केही समय हात्तीको सुसार कसरी गर्ने भन्नेबारे सिकाउने छन् । कतारमा रहेका हात्ती सुसारेले उक्त हात्तीलाई आफ्नो नियन्त्रणमा राख्न सक्ने भएपछि मात्रै नेपाली माउतेहरू फर्कने जानकारी खरालले दिए ।

कतारी अमिरको भ्रमणअघि नै नेपालका प्राविधिकहरू कतार पुगेर हात्तीको वासस्थान समेत अवलोकन गरेर फर्किसकेका छन् । कतारलाई सरकारले दिन लागेका हात्तीको उमेर ६ वर्ष पुग्न लागेको छ ।

दुवै हात्ती चितवन राष्ट्रिय निकुञ्जस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएर हुर्किएको जानकारी खरालले दिए । 

‘कन्जरभेसन डिप्लोमेसी’ ले मित्रराष्ट्रको सम्बन्ध थप मजबुत हुन्छ’

वन मन्त्रालयका सचिव डा. खरालले नेपालमा रहेका वन्यजन्तु र पशुपक्षी मित्रराष्ट्रलाई उपहार दिँदा त्यसले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने बताए ।

‘कतारमा ५ लाखभन्दा बढी कामदार छन् । हामीले दुईवटा हात्ती दिँदा कतारले हाम्रा कामदारलाई गर्ने व्यवहार थप सकारात्मक हुन्छ,’ उनी भन्छन्, ‘यसले दुई देशबीचको सम्बन्धलाई पनि थप प्रगाढ राख्छ ।’

खरालले ‘कन्जरभेसन डिप्लोमेसी’को नीति बनाएर सोही नीतिअनुसार काम गरिरहेको बताए ।

चीनलाई यसअघि गैँडा उपहार दिइएको थियो । तर, ती गैँडा मरेकाले पुनः गैँडा उपहार दिन नेपाल सरकारलाई पत्राचार गरेको छ ।

चीनमा फेरि गैँडा पठाउने तयारीमा मन्त्रालय जुटेको जानकारी खरालले दिए । कतारमा बाज पठाउने विषयमा पनि छलफल भइरहेको उनले बताए । तर, कतारले बाज नेपालमा चराउने सम्बन्धमा मात्रै नेपालको अनुमति मागेको पाइएको छ । खरालले भने, ‘बाज पठाउने मात्रै भनेर हुँदैन, उसले चल्ला कोरल्ने समयदेखि निगरानी राख्नुपर्छ, कतारमा उसले नेपालको मौसम अनुसार वासस्थान खोज्न र बस्न सक्छ कि सक्दैन भन्ने अध्ययन गर्नुपर्छ ।’ 

सचिव खरालले नेपालमा रहेका जनावर र पशुपक्षी मित्रराष्ट्रहरूलाई उपहार दिँदा हुन सक्ने प्रभाव र असरका बारेमा अध्ययन गरेर मात्रै दिने बताए ।