बैतडीमा बिशोरी बेपत्ता प्रकरण: प्रहरी हवल्दारको मोबाइलमा बेपत्ता किशोरीका तस्बिर भेटिएपछि...

बुधबार असोज ३०, २०८१/ Wednesday 10-16-24
Paschim Today

बैतडी - बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की अन्दाजी १७ वर्षीया बेपत्ता किशोरीका तस्बिर आरोपित हवल्दारको मोबाइल फोनमा भेटिएका छन । तस्बिर भेटिए सँगै किशोरीका आफन्तबाट बेपत्ता पारेको आरोप लागेका बरिष्ट प्रहरी हवल्दार कृष्णराराज जोशीको नाममा किटानी जाहेरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा किशोरीका बुबाले मंगलबार दिउँसो किटानी जाहेरी दिएका हुन । जाहेरीका आधारमा बेपत्ता किशोरीका आफन्तले आरोप लगाएका बैतडीको पञ्चेश्वर गाउँपालिका –२ स्थित महाकाली प्रहरी चौकीमा कार्यरत बरिष्ट हवल्दार कृष्णराराज जोशी रहेका र सोही किटानी जाहेरीको आधारमा कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अदालतमा मुद्दा पछि हिरासतमा हवल्दार !

हवल्दार जोशीको नाममा किटानी जाहेरी परे संगै मंगलबार दिउँसो अदालतमा  समेत मुद्दा दर्ता भइसकेको छ  । अदालतबाट पक्राउ अनुमति ल्याएर जोशीलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।

किशोरीका तस्बिर !

किशोरीका आफन्तले हवल्दार जोशीले किशोरीलाई बेला बेला भेट्न बोलाएका तथ्य प्रमाण र तस्बिर संगै निकटतम सम्बन्धमा रहेर बनाएका भिडियो फोटेज समेत आफू संग रहेको दाबी गरेका छन । किटानी जाहेरी संगै प्रमाणका रूपमा पेस गरेका तस्बिर आरोपित हवल्दारको मोबाइल फोनबाट फेला पारेको बेपत्ता किशोरीका आफन्तले बताए ।

घटना रहस्यमय , किशोरीको खोजीका लागि प्रहरी टोली परिचालित 

किशोरी बेपत्ता भएको पाचौं दिन पुगेको छ तर किशोरी कहाँ कुन अवस्थामा छिन भन्ने कुरा भने पत्ता लाग्न सकेको छैन । किशोरीको अवस्था पत्ता लाग्न नसक्दा बेपत्ता किशोरीका आफन्त आक्रोशित भएका छन  । जिल्ला प्रहरी कार्यालय बैतडी बाट किशोरीको खोजीका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।