एलन मस्कद्वारा डोनाल्ड ट्रम्पको अभियानलाई ३ महिनामा १० अर्ब रुपैयाँभन्दा धेरै सहयोग

बुधबार असोज ३०, २०८१/ Wednesday 10-16-24
Paschim Today

विश्वकै धनी अमेरिकी अर्बपति एलन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार एवम् पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अभियानका लागि ७५ मिलियन डलर रकम दिएका छन ।

एलन मस्कले डोनाल्ड ट्रम्पको समर्थक अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा झन्डै ७५ मिलियन डलर अर्थात् १० अर्ब रुपैयाँभन्दा धेरै रकम दिएको बीबीसीले जनाएको छ । सरकारी जाँचका क्रममा यो तथ्य पत्ता लागेको हो ।

अमेरिकी राष्ट्रपतिको चुनाव जित्ने रिपब्लिकन उम्मेदवारको प्रयासमा अर्बपति कसरी महत्त्वपूर्ण भएका छन् भन्ने कुरा देखाएको खबरमा उल्लेख छ ।

गएको जुलाईमा ट्रम्पमाथि भएको आक्रमणपछि मस्कले उनलाई औपचारिक रूपमा आफ्नो समर्थन दिएका थिए । यद्दपि योभन्दा पहिले पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको देखिएको छ । भर्खरै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको र्यालीका क्रममा मस्क पनि सहभागी भएका थिए । यही ठाउँमा ट्रम्पमाथि आक्रमण भएको थियो ।

अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति पदको चुनाव हुँदैछ । चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस उम्मेदवार छन। यस्तै रिपब्लिकन पार्टीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई उम्मेदवार बनाएको छ ।