राष्ट्रपति पौडेलद्वारा बडीमालिकाको दर्शन र नाट्यश्वरी मन्दिरको भवन उद्घाटन

बिहीबार कार्तिक १, २०८१/ Thursday 10-17-24
Paschim Today

राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन्।

राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्बर ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन्।

राष्ट्रपति पौडेलले बिहीबारै त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाट्यश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गरेका छन्। राष्ट्रपति पौडेल उक्त कार्यक्रममा सहभागी हुन बुधबार अपराह्न सुर्खेत पुगेका हुन्।

उद्घाटन समारोहमा उनले परापूर्वकालदेखि यी स्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको सुन्दै आएको उल्लेख गर्दै आफूले पनि सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र मुलुकको समृद्धिका लागि प्रार्थना गरेको बताए। बडीमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महसुस भएको पनि उनले बताए।

'यहाँ मैले प्रकृतिको अनुपम र मनोरम जुन छटा देखेँ, मलाई स्वर्गमै आएको महसुस भएको छ। नाट्यश्वरी देवीको मन्दिर प्रांगणमा उभिएर देवीलाई सम्झेर म भन्न चाहन्छु, यहाँ रहेको प्रकृतिको छटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको छु। मलाई बाजुराबासी स्वर्गका बासिन्दा जस्तो लागेको छ। विपन्नतामा छौं भन्ने तपाईंहरूलाई लाग्ला, अब त्यो भावना मनमा नराख्नुहोला। यो ठाउँको कृषि, पर्यटनको विकास हुन्छ। स्तरीय बाटो खुल्छ र यो भूमि सुन्दरता र वैभवले भरिपूर्ण हुनेछ,' उनले भने।

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई प्रसिद्ध धार्मिकस्थल एवं दिव्यधामहरूले एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सदभाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताए।

'बाजुरामा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक धरोहरहरू हुँदाहुँदै पनि विकास र समृद्धिमा पछाडि परेको छ। स्रोत र साधनका लागि अथाह सम्भावना बोकेको यो भूमिको विकासका लागि राज्यको उचित ध्यान जाने विश्वास व्यक्त गर्छु,' राष्ट्रपति पौडेलले भने। 

त्रिवेणीमा अवस्थित बडीमालिका दिव्यधामलाई नेपालकै एक अलौकिक धरोहरका रूपमा लिइने र यस्तो दिव्यधाममा आएर बडीमालिकाको दर्शन र नाट्यश्वरी देवीको दर्शन गर्न पाएकोमा उनले खुसी प्रकट गरे।