भट्टराई नेतृत्वको पार्टीको नाम नेसपा- नयाँशक्ति, महाधिवेशनमा कार्यकर्ताले प्रत्यक्ष मतदान गर्न पाउने

बुधबार कार्तिक ७, २०८१/ Wednesday 10-23-24
Paschim Today

काठमाडौँ : पोखरामा  सम्पन्न बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको विधान अधिवेशनले पार्टीको नामको पछि 'नयाँ शक्ति' थप्ने निर्णय गरेको छ । अधिवेशनले आगामी माघ २५,२६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्ने तय गरेको छ । महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ। 

विधान अधिवेशनबाट पार्टीको नाम र झण्डा पनि परिवर्तन गरिएको छ। विधान प्रतिनिधिहरुबाट सर्वसम्मत रुपमा नाम र झण्डा पारित गरिएको पार्टीकी नेता मानुसी यमी भट्टराईले जानकारी दिइन् ।

 

अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना, ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था पारित गरेको छ। जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेसी , १ खसाआर्य, १ दलित), १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष हुनेछन्। निर्वाचन समिति ३३ सदस्यीय हुनेछन्। सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको छ। पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ। त्यस्तै सबै समितिमा महिलापदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको छ।

विधान अधिवेशनमा पार्टीको आयव्यय प्रस्तुत गरिएको छ। आय ७ लाख ५० हजार र व्यय ९ लाख ७७ हजार १६० रुपैयाँ रहेको छ।