अहिलेसम्मकै महंगो मूल्यमा नेपाल भित्रियो ‘पुष्पा २’, लगानी उठाउन १९ करोड कमाउनुपर्ने

बिहीबार कार्तिक ८, २०८१/ Thursday 10-24-24
Paschim Today

काठमाडौं । भारतीय फिल्म ‘पुष्पा २’ अहिलेसम्मकै महंगो मूल्यमा नेपाल भित्रिने निश्चित भएको छ । नेपालका तीन ठूला वितरण कम्पनीले संयुक्तरुपमा यो फिल्मको वितरण अधिकार खरिद गरेका छन् ।

ए-एट्, डीसीएन र आरआर फिल्म्सले फिल्मको डिष्ट्रिब्युसन राइट न्यूनतम ६ करोड ४० लाख रुपैयाँ (४ करोड भारु)मा खरिद गरेका हुन् । आउने निश्चित भएपछि क्यूएफएक्सले आफ्नो वेबसाइटमा ‘कमिङ सुन’ पोस्टर हालेको छ ।

 

 

डीसीएन प्रमुख अशोक शर्माले न्यूनतम ४ करोड भारुमा ‘पुष्पा २’ नेपाल आउने निश्चित भएको जनाए । ‘नो रिस्क, नो गेन’ उनले भने, ‘जोखिम मोलेरै हामी तीन कम्पनीले ल्याउने निश्चित भएको छ ।’

अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर फिल्मले लगानी उठाउन भने नेपालमा न्यूनतम १९ करोड रुपैयाँ ग्रस कलेक्सन गर्नुपर्छ । यो भन्नुको अर्थ, अहिले ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले कमाएको बराबर ‘पुष्पा २’ ले कमाउनुपर्छ भन्ने हो । यसका लागि यो फिल्मले सोही अनुसार शो पनि पाउनु जरुरी छ ।

 

 

समीक्षा सकारात्मक भएमा ‘पुष्पा २’ का लागि त्यो लक्ष्य कठिन हुनेछैन । किनभने यो फिल्मको चर्चा र अपेक्षा यति चुलिएको छ कि अमेरिकी ओटीटी प्लाटफर्म नेटफ्लिक्सले यसको राइट २७५ करोड भारुमा किनेको छ । रिलिजअघि नै फिल्मले विभिन्न राइट विक्रीबापत एक हजार करोड भारुभन्दा धेरै कमाइ गरिसकेको छ ।

यसअघि महंगो मूल्यमा प्रभास स्टारर ‘सलार’लाई एप्पल इन्टरटेनमेन्टले खरिद गरेको थियो । सुकुमारन निर्देशित यो फिल्मलाई एप्पलले २ करोड ७५ लाख भारुमा खरिद गरेको जनाइएको छ ।